१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीको कटाक्ष, ‘खोपको व्यवस्था पहिल्यै भइसक्या थ्यो, कसैले खोप–खोप–खोप भनिरहनुपर्दैन’


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिईरहन आवश्यक नरहेको प्रतिक्रिया दिनु भएको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको थियो । निवर्तमान प्रधानमन्त्री ओलीले भने सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताउनुभयो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकको शुभारम्भमा बोल्दै उहाँले केही पनि नभएको ठाउँबाट सबै नेपालीलाई लगाउन पुग्ने गरी कोभिड खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले मिलाएको दावी गर्नुभयो ।

‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्‍याएका छौं, दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौँ,’ निवर्तमान प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले बाढी, पहिरो र डुबान पीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको दावी गर्नुभयो । आफू नेतृत्वको सरकारले देश र जनताका लागि गर्व गर्नलायक काम गरे पनि अन्य दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नुपरेको उहाँको तर्क थियो ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको आफ्नो पार्टीको सरकारले पनि सफलतापूर्वक काम गरेकै कारण प्रतिक्रियावादीहरूले सरकारबाट हटाएको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले पनि राम्रो काम गर्दागर्दै प्रतिक्रियावादी शक्तिहरुले पार्टी भित्रकै केही महत्वकांक्षीहरूलाई प्रयोग गरेर पार्टीलाई नै विभाजन गर्ने षडयन्त्र गरिरहेको बताउनुभयो ।

‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी भित्रका महत्वकांक्षीहरूलाई सु¥याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ ।’

त्यस अवसरमा उहाँले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रिया अनुसार मुलुकको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दावी समेत गर्नुभयो ।