७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दुई वडाको विवादले धनगढी उप–महानगरपालिका सानो झरीमै जलमग्न


0
Shares

विराज रोस्यारा
कैलाली । कैलालीको धनगढी उप–महानगरपालिकामा ढल निकासीको दीर्घकालीन योजना नबन्दा वर्षेनी डुबान पर्ने गरेको छ ।

एकातर्फ खोलानाला मिचिएर पानी निकास रोकिएको छ भने अर्कोतर्फ भएका नालासमेत बन्द छन् । उप–महानगरपालिकाले यी खोला नाला खोलेर पानी निकासको व्यवस्थापन गर्न नसक्दा सानो झरीमै उप–महानगर जलमग्न बन्ने गरेको छ ।

धनगढी उप–महानगरपालिकामा पानीको निकासको विषयमा दुुई वडाबीच विवाद सिर्जना भएको छ । उप–महानगरपालिकाको वडा नम्बर २ र ३ बीच वर्षापछि जमेको पानी निकासको विषयमा विवाद सिर्जना भएको हो ।

वडा नम्बर ३ बाट बग्ने पानीले डुबान हुने भन्दै वडा नम्बर २ का स्थानीयले नालानै बन्द गरिदिएपछि विवाद बढेको हो । वडा नम्बर २ का स्थानीयले नाला बन्द गरेपछि वडा नम्बर ३ का करिब ८ सय घर परिवार डुवानबाट प्रभावित भएका छन् ।

उप महानगरपालिकाको वडा नम्बर ३ मा पर्ने डुवान रोकथामका लागि सम्बन्धित निकायले आश्वासन दिएपनि डुबान नियन्त्रणमा कुनै किसिमको काम हुन सकेको छैन । २ नम्बर वडामा मात्रै पानी निकास गर्ने भन्दापनि सबै क्षेत्रको पानी निकासको व्यवस्थापन गर्नुपर्ने जनप्रतिनिधिको भनाइ छ ।

धनगढीको यो समस्या यहाँका नेता र समाजसेवी हुँ भन्नेहरुकै कारण बढेको स्थानीयको गुनासो रहेको छ । धनगढी नगर विकास हुँदा खोला नालासमेत बिक्री गरेपछि पानी निकास बन्द भएको हो ।

तत्कालका लागि केही नाला बनाएर वा होमपाइप हालेर डुबान समस्या कम भएपनि दीर्घकालिन समाधानका लागि मिचिएका खोला नाला खोलिन जरुरी छ । (भिडियो हेर्नुहाेस्)