१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोभिडका कारण खेलकुद संरचना प्रयोगविहीन, व्यवस्थित रहेको राखेपको दावी


0
Shares

काठमाडौं । कोभिड–१९ ले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुदका संरचनामा पनि प्रयोगविहीन भएका छन् । खेलकुदका गतिविधि खुम्चिँदा थोरै संरचनामा मात्र प्रयोगमा आएका छन् भने केही थलिएका छन् ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद(राखेप)ले भने आफू मातहत रहेका संरचना धेरैै स्थानमा व्यवस्थित भएको दावी गरेको छ । ७७ वटै जिल्लामा राष्ट्रिय खेलकुद परिषदका संरचना रहेका छन् । केही संरचनाको आफ्नै नाममा लालपुर्जा रहेको छ भने केही भोगचलनको आधारमा सञ्चालन भइरहेका छन् ।

सबै ठाँउका पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको र केही ठाउँमा व्यवस्थित गर्न बाँकी रहेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए । थोरै बजेट भएकाले एकैपटक भौतिक संरचना बन्छ भन्ने सोच्नु गलत हुने उनको भनाइ छ ।

खेलकुद विभाग प्रमुख थापाले हरेक वर्ष सरकारले देशका विभिन्न ठाउँमा रंगशाला निमार्णका लागि बजेट विनियोजन गरे पनि खण्ड खण्डमा आउने बजेटले समयमा सम्पन्न हुन ढिलाइ भएको बताए ।

उनले पोखरामा नवौ राष्ट्रिय खेलकुद गर्नका लागि केही मात्र पूर्वाधार आवश्यक रहेको भन्दै पोखरा रंगशालासँगै सुटिङ हल, पौडी पोखरी र फ्लड लाइट राख्ने काम यसै वर्ष सम्पन्न हुने बताए ।