
काठमाडौं । दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले ब्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको कांग्रेसकै नेता गगन थापाले विरोध गर्नुभएको छ ।
पूर्वस्वास्थ्य मन्त्री रहिसक्नुभएका कांग्रेस केन्द्रीय सदस्य थापाले जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बताउनुभएको हो । नेता थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको बताउनुभएको छ ।
मंगलबार प्रधानमन्त्री देउवाले खनाललाई फोन गरेर उपचार खर्च सरकारले ब्यहोर्ने बताउनुभएको थियो । नेता थापाले बुधबार सामाजिक सञ्जाल मार्फत उक्त खर्च बेहोर्न नमिल्ने बताउनुभएको हो । २०७४ सालमा बनेको जनस्वास्थ्य ऐन अनुसार उपचार खर्च बेहोर्न नमिल्ने थापाले बताउनुभएको हो ।
उक्त कानुन २०७५ असोज २ गतेदेखि लागू भइसकेकाले खर्च बेहोर्न कानूनले नदिने उल्लेख गर्नुभएको छ । उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसका लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार भएको थापाले बताउनुभयो ।
खनालको विदेशमा गरेको उपचारको खर्च सरकारले ब्यहोर्ने भन्ने विषय उठाएर उहाँको विषयमा अनावश्यक टिकाटिप्पणी गर्ने वातावरण बनाइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । साथै उहाँले यस्ता विषय उजागर गरेर परिवारलाई दुःखी नबनाउन समेत सबैलार्ई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्