१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इस्लाम धर्मावलम्बीले मनाए बकर इद


0
Shares

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान चाड बकरइद (ईद उल अजहा) बुधबार देशभर मनाइएको छ । रमजान पर्वको ७०औं दिनमा मनाइने यो पर्व मुस्लिम धर्मावलम्बीहरूको रमजानपछिको दोश्रो ठूलो पर्व हो । पर्वमा सरकारले सार्वजनिक विदा दिएको छ ।

कोरोना संक्रमणको जोखिमको कारण एकै ठाउँमा जम्मा भएर प्रार्थना गर्न बन्देज लगाइएकाले धेरै इस्लाम धर्मावलम्बीहरूले मस्जिदमा गएर नमाज पढ्न पाएका छैनन् । काठमाडौंको जामे मस्जिदमा वरिपरि इस्लाम धर्मावलम्बीहरूले सामुहिक नमाज पढेका छन् । मास्क लगाएर भौतिक दूरीको पालना गरेर नमाज (प्राथना) गरेका छन् ।

यस पर्वमा आर्थिक रूपमा सबल मानिसहरूले दान गर्नुपर्ने अल्लाहको आदेश भएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समीनले बताउनुभयो । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ । बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।

अध्यक्ष अब्दुल समीनले कोरोनाका कारण यो बकरइदको नमाजमा बाहिरी मानिसलाई प्रवेश नदिइएको र सामाजिक दूरी कायम गर्दै मनाइएको बताउनुभयो । ईद उल अजहा पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान खुलेको छैन । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् ।

इदको उपलक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्धी शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।