२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मन्त्री नबनाएको झोंकमा गुट परिवर्तन गरेको होइन– किसान श्रेष्ठ


0
Shares

बारा । नेकपा एमालेका सांसद् कृष्णकुमार श्रेष्ठ ‘किसान’ले मन्त्री नबनाएको झोकमा आफूले गुट परिवर्तन गरेको आरोपको खण्डन गर्नुभएको छ ।

बुधबार बाराको सिमरामा भएको एक कार्यक्रममा श्रेष्ठले आफूलाई मन्त्रीको अफर आएको भनेर प्रचारबाजी भए पनि त्यो झुटो भएको बताउनुभयो । ‘मलाई मन्त्री नबनाएर गुट परिवर्तन गरेको हल्ला छरिएछ बजारमा,’ उहाँले भन्नुभयो, ‘तर, त्यस्तो होइन संविधानको रक्षा र प्रतिनिधिसभाको पूर्ण कार्यकालका लागि मतदान गरेको हुँ ।’

संविधानको रक्षा र संसद्को पूर्ण कार्यकालका लागि आफूले देउवालाई विश्वासको मत दिएको प्रष्ट पार्नुभयो । उहाँले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको राजनीतिक दिशासँग आफू नजिक भएको पनि खुलासा गर्नुभयो । ओलीलाई मेख मार्नकै लागि देउवालाई विश्वासको मत दिएको भन्ने प्रचार गलत भएको उहाँको भनाइ छ ।

सरकारमा रहँदा पार्टी अध्यक्ष ओलीले सडकबाट मान्छे उठाएर मन्त्रीको कुर्सी भरेको, एउटै व्यक्तिलाई पटक–पटक मन्त्री बनाएको र पार्टीको हितमा ज्यान थाप्नेलाई अवसरबाट बञ्चित गराएको नेता श्रेष्ठको आरोप छ । उहाँले पार्टी फुट्न नदिन जुनसुकै प्रयासका लागि पनि आफू लाग्ने बताउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर एकाएक चर्चामा आएका श्रेष्ठ केपी ओलीको किचेन मेम्बरको रूपमा चिनिनुहुन्छ । देउवालाई विश्वासको मत दिएपछि भने उहाँको परिचय फेरिएको छ । अहिले धेरैले उनलाई माधवकुमार नेपाल निकट भनेर चिन्छन् ।