३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


रेड बुल बेच्ने ४ जना पक्राउ


13
Shares

काठमाडौं । न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट निलो कलरको प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘रेड बुल’ बिक्री वितरण गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट मंगलबार २ सय २ कार्टुनमा रहेको ४ हजार ८ सय ४८ थान रेडबुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज ‍श्रेष्ठ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० निलो पुल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-३ घर भएका शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धन बहादुर श्रेष्ठ, रेड बुल ओसारपसारमा संलग्न काठमाडौं महानगरपालिका-११ गोंगबु बस्ने बाँके कोहलपुर नगरपालिका-९ घर भएका ३६ वर्षीय राजु पौडेल र काठमाडौं गोठाटार बस्ने सर्लाही हरिपुर नगरपालिका-१ घर भएका ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।

काठमाडौंका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित रेड बुल ल्याई बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न चा जनालाई पक्राउ गरेको हो । उक्त २ सय २ कार्टुनमध्ये रबिनराजको स्टोरबाट ५९ कार्टुन, धन बहादुरको स्टोरबाट ५९ कार्टुन र बा. २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी बिक्री वितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट ८४ कार्टुन रेड बुल बरामद भएको हो ।

उनीहरुलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि भन्सार बिभाग पठाइने महानगरीय अपराध महाशाखाले जनाएको छ । २०७६ असार २ मा प्रकाशित राजपत्र भाग ५ को सूचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ, Flavoured Synthetic Drinks र यस्तै प्रकारका पेय पदार्थहरूको बिक्री वितरणलाई पूर्णरुपमा बन्देज गरिएको छ ।