१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


व्यक्तिवादमा रुमल्लिँदै नेपाली राजनीति, हरायो नीतिगत बहस


0
Shares

एलबी विश्वकर्मा
काठमाडौं । गत असार २१ गते राष्ट्रियसभा सदस्य कोमल वलीले राष्ट्रिय सभामा ‘बाँदरको जमात र अमृत पानको सपना’ शिर्षकको कविता प्रस्तुत गर्नुभयो । सांसद ओलीको कविताका पात्रहरू जस्तै जमात मंगलबार काठमाडौंको सडकमा पनि देखियो ।

एमाले युवा संघका कार्यकर्ताहरू बाँदरको मुखुण्डो लगाएर सडकमा निस्किए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको विरोधमा उनीहरू सडकमा उत्रिएका हुन् । यसले नेपाली राजनीतिमा बढ्दै गएको असहिष्णु प्रवृत्तिलाई उजागर गरेको विश्लेषकहरूको भनाइ छ ।

राजनीतिशास्त्री लोकराज बराल शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने सबैको अधिकार भए पनि असहिष्णु र मनपरी गालीगलौजमा उत्रनु स्वभाविक नभएको बताउनुहुन्छ । ओली आफैँ पनि उत्तेजित भएर मनपरी बोलेका कारणले कार्यकर्ताले त्यसको सिको गरेको उहाँको भनाइ छ ।

एमालेको नेपाल पक्षले देउवालाई विश्वासको मत दिएपछि दुवै पक्ष झन् आक्रमक बनिरहेका छन् । ओली पक्षले माधव नेपालका पुत्ला जलाउने क्रम पनि बढाएको छ । राजनीतिक विश्लेषक साेमत घिमिरे दलहरू संस्थागत भावना र स्वरुपभन्दा बाहिरबाट चल्दा राजनीति व्यक्तिवादमा हावी हुने बताउनुहुन्छ ।

नेपालको राजनीति विगतदेखि वर्तमानसम्म व्यक्तिवादमा अल्झिएको छ । घिमिरेका अनुसार यहाँको राजनीति हिरोइजमको सिकार बन्दै गएको छ । ‘नेपालको राजनीति हिरोइजम बाट आएको हो, लामो समय नेपाली कांग्रेसको राजनीति बीपी कोइराला र त्यसपछि गणेशमान र किसुनजीको हिरोइजमबाट चल्यो, माओवादी जनयुद्धभर प्रचण्डको हिरोइजमबाट चल्यो,’ उहाँ भन्नुहुन्छ, ‘दलहरूले आफूलाई पुनःसंरचना गरी संस्थागत गर्न नसक्नु नै व्यक्तिवाद हावी हुनुको मुख्य कारक हो ।’

सांसद् वलीले कवितामा भने झैँ यहाँका दल र नेताहरूको चरित्र निश्चित भाषा र परिवेश छैन, व्यक्तिगत स्वार्थ केन्द्रित छ । दलहरूमा नीति र विधिको बारेमा छलफल गर्नुको साटो कुनै व्यक्तिको पक्ष र विपक्षमा बहस हुन्छ । राजनीतिक दलहरूले विधिको शासन र सिद्धान्तको राजनीति अघि सार्न सक्नुपर्दछ, हरेक नेतृत्वले व्यक्तिवादी लहडलाई त्याग्नु पर्दछ ।