१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


निषेधाज्ञा खुकुलो भएसँगैं चितवनमा कोरोना संक्रमण बढ्यो, स्वास्थ्य मापदण्डको भएन पालना


0
Shares

डोलराज रानाभाट
चितवन । चितवनमा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्न थालेको छ ।

कुनै समय अत्यावश्यक पसलहरु खोल्नसमेत कडाइ गरिएको जिल्लामा अहिले लामो दूरीमा चल्ने सवारी सञ्चालनको अनुमति दिइएको छ ।

खोप लगाउने र सेवा लिने स्थानहरुमा भीड देखिन्छ । यसले संक्रमण बढ्ने आशंका गरिएको छ ।

सक्रिय संक्रमितको सख्या ५ सयभन्दा बढी भएपछि स्थानीय प्रशासनले चितवनमा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी ग¥यो ।

कडाइका साथ निषेधाज्ञा सुरु भए पनि संक्रमण दर भने कम भएको छैन । अहिले निषेधाज्ञा खुकुलो भएपनि स्वास्थ्य मापदण्ड पालना भएको छैन ।

जसले गर्दा एक हजार बढी सक्रिय संक्रमित रहेको जिल्लामा संक्रमितको संख्या ओरालो लाग्नुको सट्टा उकालो लागिरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालको भनाइ छ ।

दैनिक एक सयको हाराहारीमा संक्रमित थपिँदै छन् । निषेधाज्ञा कडा हुँदा दैनिक ४ सयसम्म संक्रमित थपिएर झण्डै पाँच हजार सक्रिय संक्रमित पुगेको जिल्लामा रेकर्ड छ ।

हाल चितवनमा एक हजार ७ सय १४ सक्रिय संक्रमित रहेका छन् । कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई पनि संक्रमण देखिएको भरतपुर अस्वपतालका कोभिड फोकल पर्सन डा. प्रमोद पौडेल बताउनुहुन्छ ।

बजारमा किनमेलदेखि सरकारी कार्यालयको सेवा र अस्पतालजस्ता ठाउँमा समेत स्वास्थ्य मापदण्ड उल्लघन भइरहेको छ । मास्क लगाउने मापदण्डलाई पालना गरे पनि अन्य मापदण्ड पालना गरेको पाइँदैन ।

सार्वजनिक सवारीसमेत सञ्चालनमा आएपछि थप सतर्क रहन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा आग्रह गर्नुहुन्छ ।

जिल्लामा अहिलेसम्म ९३ हजार ३ सय ७२ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा र २३ हजार ९ सय ३८ जनाले दोस्रो मात्रा लगाएका छन् ।

तर कोरोनाविरुद्धको खोप लगाउनेलाई पनि संक्रमण देखिएकाले अझै सतर्क रहन जरुरी छ भने स्वास्थ्य मापदण्डको पालना भए नभएको प्रभावकारी अनुगमन गर्न अझ बढी आवश्यक छ ।(भिडियो हेर्नुहोस्)