२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप हाेइन अनुरोध मात्र गरेको थियाे- देउवा


0
Shares

sherbahadur deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले पार्टीका सांसद्हरूलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप नलगाएको स्पष्ट पार्नुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले दिनुभएको बधाई र शुभकामनालाई धन्यवाद दिन बोल्दै देउवाले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप नलगाएको बताउनुभयो ।

‘हामीले पक्षमा मतदान गर्न ह्वीप लगाएका थिएनौं, अनुरोध गरेका थियौं,’ उहाँले भन्नुभयो, ‘अनुरोध त हामीले एमालेलाई पनि गरेका थियौं, माओवादी र जसपालाई पनि गरेका थियौं, अनुरोध नै गर्न नपाइने कहाँको नियम हो ?’

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेपाली कांग्रेसले ह्वीप लगाएको आरोप लगाउनुभएको थियो । ह्वीप लगाएका कारबाही गर्न नपाइने भन्ने अनि आफैँले ह्वीव लगाउने भन्दै नेम्वाङले प्रश्न उठाएपछि जवाफमा देउवाले आफ्नो पार्टी मतदान गर्न अनुरोध गरेको स्पष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री देउवाले पुनः एकपटक सम्पूर्ण नेपालीलाई खोप लगाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले ऋण गरेरै भए पनि वा महंगोमै भए पनि नेपाली जनतलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने बताउनुभयो ।

उहाँले अनुभवी नेताहरू सरकारमा भएकाले सहकार्य र परामर्शमा जनताको समस्या समाधानका लागि काम गर्ने बताउँदै सबैको ममर्थनको लागि धन्यवाद दिनुभएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक साउन १२ गते दिउँसो १ बजे बस्नेछ ।