१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यातायातको राजश्व अब अनलाइनबाटै, बागमतीलाई डिजिटल प्रदेश बनाउने मुख्यमन्त्रीको उद्घोष


0
Shares

श्रीराम अर्जुन
हेटौंडा । बागमती प्रदेश सरकारले सवारी साधनहरूको राजश्व अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार एक समारोहका बीच सवारी साधनहरूको राजश्व भुक्तानी अनलाइनबाट गर्न मिल्ने गरी बनाइएको यातायात व्यवस्थापन सूचना प्रणालीको उद्घाटन गरेर शुभारम्भ गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणी फुयाँलको मोटरसाइकलको उक्त प्रणालीलाई मार्फत राजश्व तिरेर यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्नुभयो । प्रणालीमा अभ्यस्त नहुँदासम्म कठिनाइ भए पनि राजश्व भुक्तानीको प्रक्रिया पछि सहज हुँदै जाने मुख्यमन्त्री पौडेलको भनाइ छ । उहाँले प्रदेशलाई डिजिटल प्रदेशको रूपमा चिनाउने समेत बताउनुभयो ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले बागमती प्रदेशमा दर्ता भएका सवारीको अनलाइन प्रणालीबाट राजश्व तिर्न सक्ने उद्देश्यले शुक्रबारबाट विधिवत रुपमा प्रणालीको शुभारम्भ गरेको जनाएको छ । यस प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बीमा पहिचान, सवारी साधन दर्ता, नवीकरण लगायतका कार्य सहज बनाइ कर प्रणालीमा सहजता आउने जनाइएको छ ।

प्रदेश सरकारको मातहतमा रहेका यातायात व्यवस्था कार्यालय सहित ६ वटा सेवा कार्यालयबाट सेवा प्रदान गरिने जनाइएको छ । बागमती प्रदेशमा नेपालमा दर्ता रहेका सवारी साधन मध्ये ४७ प्रतिशत साधन बागमती प्रदेशमा दर्ता रहेका छन् । आव २०७७/०७८ बागमती प्रदेशमा १२ लाख ४३ हजार साधन दर्ता भएका छन् । असार १५ सम्ममा ८ अर्ब ९३ करोड, ९८ लाख, ५० हजार ३९८ राजश्व संकलन गरिएको जनाइएको छ ।