१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुजिता भण्डारी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा दाइ पक्राउ


0
Shares

डोलराज रानाभाट
चितवन । राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मृत्युको घटनामा दाइ नाता पर्ने एकजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै दाइ नाता पर्ने सचिन भन्ने २३ वर्षीय सुकदेव भण्डारीलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको छ । परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि भण्डारीलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएको समेत अनुसन्धानबाट खुलेको छ । तर, आफ्नै काकाको छोरीलाई विवाह गर्न सामाजिक र नैतिक हिसावमा नमिल्ने भन्दै सुकदेवले इन्कार गरेको खुलासा भएको अधिकारीले बताउनुभयो । आफूसँग विवाह नगरे आत्महत्या गर्ने भन्दै सुजिता बारम्बार धम्की दिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता र सुकदेवका बुवा दाजुभाइ हुन् ।

त्यसअघि पनि नजिकको नातामा सम्बन्ध अघि नबढाउन परिवारले दुवैलाई जनालाई पटक–पटक आग्रह गरेको कुरा पनि खुल्न आएको छ । परिवारले अस्वीकार गर्ने देखेर विवाह गर्ने र त्यसपछि अपहरणमा परेको नाटक गरी लुकेर बस्ने बारे दुई जनाबीच कुराकानी समेत भएको थियो ।