१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलम्पिकमा नेपाल : कल्पनाको राष्ट्रिय कीर्तिमान, सोनियाले सवा मिनेटमै गुमाइन् खेल


0
Shares

काठमाडौं । टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

शनिबार बिहान भएको छनोट चरणमा कल्पनाले ६ सय १६ दशमल ८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । उनले १३ औं सागमा ६ सय १४ दशमलब ५ अंक जोड्दै बनाएको कीर्तिमान तोडेकी हुन् ।

राष्ट्रिय कीर्तिमान बनाए पनि ५० खेलाडी सहभागी प्रतिस्पर्धामा उनी ओलम्पिकमा ४६ औं स्थानमा रहिन् । सुटिङ खेलाडी कल्पनाले वाइल्ड कार्ड पाउँदै टोकियो २०२० ओलम्पिकमा सहभागिता जनाएकी हुन् ।

त्यसैगरि नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । बिहान भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भएकी हुन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् । सोनिया पनि वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।

सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् ।

अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् ।

एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछ । उनी सहभागी इभेन्टको पदकको टुंगो २९ जुलाईमा लाग्नेछन् । यस्तै गौरिका सहभागी इभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन् । महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ ।