१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विमानस्थलबाट करोडौंको तस्करी, सुरक्षा चुस्त रहेको प्रहरीको दावी


0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल कोभिडका कारण सुनसान देखिन्छ । सीमित उडान भएकाले आवतजावत पनि पातलो छ ।

विगत ९ महिनाको तथ्याङ्कलाई हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मी र भन्सार विभागको संयुक्त टोलीले ३२ जना तस्कर समातेको छ । उनीहरूबाट दश किलो ८२ ग्राम सुन नियन्त्रणमा लिइएको छ । जसको बजार मूल्य ७ करोड ७६ लाख रहेको छ ।

त्यसैगरी ८ जनाबाट ४३ लाख ३४ हजार श्रोत नखुलेको नेपाली रुपैयाँ, ५१ हजार अमेरकी डलर र २ हजार युरो बरामद भएको थियो । लागू पदार्थको तस्करीमा भने एउटा समूह मात्र पक्राउ परेको थियो । विमानस्थल सुरक्षामा खटिएको प्रहरीले त्यहाँबाट हुने अवैध सामानको तस्करी नियन्त्रणका लागि अभियान नै चलाएको जनाएको छ ।

विमास्थलको सुरक्षा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, तस्करको प्रयासलाई निरुत्साहित पार्न व्यापक अभियान चलाइरहेको बताउनुहुन्छ । विमानस्थलको सुरक्षा निगरानीको लागि हाल ३ सय ७७ वटा सिसि क्यामेरा जडान गरिएको छ । सूचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको विमानस्थल प्रहरीको दावी छ ।

सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र भएकाले सूचना प्रविधिमा सुधारका लागि काम भइरहेको सुरक्षा प्रमुख बस्तोला बताउनुहुन्छ । विगतको तुलनामा तस्करीका घटना न्यूनिकरण भएको र घट्दो क्रममा रहेको उहाँको दावी छ ।

पछिल्लो समय तस्करहरूले आफ्नो शैलीमा परिवर्तन ल्याएकाले प्रहरी पनि सोही अनुसार अपडेट हुनुपर्ने भएको छ । त्यसका लागि विमानस्थलमा अत्यधुनिक उपकरणको आवश्यक छ । अहिले तत्कालका लागि भेहिकल्स सर्च मेसिनको आवश्यक रहेको प्रहरी प्रमुख बास्तोलाको भनाइ छ ।

सुरक्षा प्रविधि पेचिलो बनाउनु मात्र समाधान नभएर त्यहाँ काम गर्ने जनशक्ति पनि मन, वचन र कर्मले इमान्दार हुन आवश्यक छ ।