
पोखरा । गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले राजनीतिक अस्थिरताले देश नबन्ने बताउनुभएको छ । दुई महिना २४ दिनमै पदमुक्त भएपछि बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर अस्थिर राजनीतिले देश नबन्ने बताउनुभयो ।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर पौडेललाई जिम्मेवारी दिइएको थियो । वर्तमान सरकारले उनलाई बर्खास्त गर्दै मंगलबार पृथ्वीमान गुरुङलाई गण्डकी प्रदेश प्रमुख बनाएको छ ।
पौडेलले आफूले संवैधानिक परिधिभित्र रहेर आफ्नो कर्तव्य पूरा गरेको पनि बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले विज्ञप्ति पढेर सुनाउनुभएको थियो । पढेर सकेपछि पत्रकारलाई धन्यवाद दिँदै उहाँले थप प्रश्नउत्तरका लागि तयार हुनुभएन ।
गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले चालु आर्थिक वर्षमा ‘प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम’का लागि प्रदेश सरकार मार्फत २२ करोड रुपैयाँ बजेट विनियोजन गर्न सफल भएको बताउनुभयो । उहाँले नवनियुक्त प्रदेश प्रमुखले यो कार्यक्रमलाई निरन्तरता दिने आशासमेत व्यक्त गर्नुभयो ।
पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले आफूलाई पदमुक्तको निर्णयले दुःखी नबनाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्