७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


किन भएन खोपको समान वितरण ?


0
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्ने पहिलो र अन्तिम अस्त्र भनेको खोप नै हो । विश्वव्यापी रुपमा खोपलाई नै प्राथमिकतामा राखेर अभियान सञ्चालन भइरहेका छन् । गत फागुन ४ गते देखि खोप अभियान सुरु भएको नेपालमा अहिलेसम्म ३५ लाख नागरिकलाई कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाइसकिएको छ ।

सबै भन्दा बढी बागमती प्रदेशका २१ लाख व्यक्तिले पहिलो डोज खोप लगाएका छन् । ति मध्ये ८ लाख बढी व्यक्तिले दोस्रो डोज खोप पूरा गरेका छन् । बागमतीपछि संक्रमण दर उच्च रहेको गण्डकी प्रदेशमा ४ लाख ७० हजार बढी व्यक्तिले मात्र पहिलो डोज खोप लगाउँदा तिमध्ये १ लाख ६० हजार व्यक्तिले मात्र पूर्ण खोप लगाएका छन् ।

कर्णाली प्रदेशका स्थानीयले सबैभन्दा कम १ लाख ६० हजार व्यक्तिले पहिलो डोज खोप लगाएका छन् । ति मध्ये करिव ५० हजार व्यक्तिले मात्र दोस्रो डोज पूरा गरेका छन् । कर्णालीमा जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु नै गरिएको छैन् । जोन्सनको खोप कर्णालीसँगै प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा लगाइएको छैन । संघीयता गएको देशमा प्रदेशहरूमा समान रूपले खोप वितरण हुन सकेको छैन ।

खोप लगाउने समय, खोप केन्द्र र खोप लगाउनेहरूको व्यवस्थापन स्थानीय तहले गर्छ । स्वास्थ्य मन्त्रालयले खोपको खरिद तथा सम्बन्धित प्रदेश र जिल्लामा खोप पठाउँछ । कतिपय स्थानीय तहहरूमा यसअघिकै खोप अभियान पनि नसकिएकाले पनि खोपको वितरणमा समस्या भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारी बताउनुहुन्छ ।

हाल प्रदेश १ का तीन, बागमतीका पाँच जिल्ला, गण्डकीका दुई र लुम्बिनीका एक जिल्लामा ५ सय भन्दा धेरै कोभिड संक्रमितहरू छन् । साउनयता ३५ हजार व्यक्ति संक्रमित भइसकेका छन् । साउन ११ गते पछि दैनिक करिव ४ हजार व्यक्तिमा संक्रमण देखिन थालेको छ । जसलाई स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको संकेत भनेको छ ।

दिनहुँ भेटिने संक्रमितमध्ये सबै भन्दा बढी बागमती त्यसपछि गण्डकी प्रदेशका रहेका छन् । गण्डकीमा तीन जना व्यक्तिको परीक्षण गर्दा दुई जनामा संक्रमण देखिने गरेको मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या उकालो लाग्दै गर्दा प्राप्त भइरहेको खोपको समान वितरण गर्दै लगाउन सुरु गर्दा संक्रमणदर घटाउन सकिने भएकाले सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।