
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले आफूहरूको कारणले महाधिवेशन नरोकिने जनाएको छ ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकअघि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै समितिका प्रवक्ता प्रदीप पौडेलले आफूहरूका कारण महाधिवेशन नरोकिने बताउनुभयो ।
बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले समितिलाई २४ घण्टाभित्र क्रियाशील सदस्यता विषय टुंगो लगाउन निर्देशन दिएको थियो । त्यसको जानकारी गराउन बैठकमा सहभागी हुनुअघि पौडेलले आफूहरूले २४ घण्टामा १० वटा वडा तहको विवाद सल्ट्याएर प्रतिवेदन बुझाएको बताउनुभयो ।
‘प्राप्त समयमा त्रुटिहरू सच्याएका छौँ,’ उहाँले भन्नुभयो, ‘उजुरी, निवेदन र समस्याहरूमा सर्वसम्मतिबाट निर्णय गरेका छौँ, यद्यपि नोट अफ डिसेन्ट बाँकी नै छ । थप सच्याएर बुझाएका छौँ, हाम्रो कारणले महाधिवेशन रोकिँदैन ।’
समितिले सप्तरी, बारा, धनुषा, सप्तरी, सिन्धुपाल्चोक र रसुवाको समस्या आफूहरूबाट समाधान नहुने बताउँदै केन्द्रीय तहबाटै समाधान हुनुपर्ने जिकिर गर्नुभयो । १३औं महाधिवेशनमा ३३ वटा वडाको स्थगन भएको स्मरण गर्दै उहाँले अहिलेसम्म १ सय वटा वडामा विवाद भएकाले त्यतिलाई स्थगत गरेर महाधिवेशनमा जानुपर्ने तर्क गर्नुभयो ।
विशेष अधिवेशन गर्ने अवस्थामा क्रियाशली सदस्यता छानविन नै गर्नुनपर्ने जिकिर गर्दै पौडेलले यति दुःख गरेर वातावरण बनिसकेपछि अधिवेशन रोकेर विशेष अधिवेशनमा जोड दिन नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्