
काठामडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा दिने घोषणा गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न एन्फाले बैठक बोलाएको हो ।
मुख्य प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले दवाव दिएको आरोप लगाउँदै राजीनामाको घोषणा गरेका थिए ।
मुख्य प्रशिक्षकसँग भएको भनिएको विवाद र पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रिय समितिको बैठक बोलाएको हो ।
अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए । तर, उनले लिखित राजीनामा भने नबुझाएको एन्फाले जनाएको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा नदिन र केही दिन आराम गर्न भनेपछि उनले लिखित राजीनामा नबुझाएको बताइएको छ । कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए ।
उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरी कुल ४ खेल खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्