१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनले थप १६ लाख डोज खोप दिने


13
Shares

काठमाडौं । चीनले कोभिड–१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । अर्थ मन्त्रालयका अनुसार चीनले दिने भनेको थप खोप चाँडै आउने छ । भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गर्नुभएको थियो ।

चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरूको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने अर्थमन्त्री शर्माले बताउनुभयो ।

भेटमा चिनियाँ राजदूत यान्छीले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताउनुभयो ।

भूकम्प पछिको पुनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाको पुननिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै राजदूत यान्छीले दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरूको काम पनि चाँडै सम्पन्न गर्ने बताएको मन्त्रालयले जनाएको छ ।