
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले भारतसँग सीमा जोडिएका क्षेत्रका नेपाली जनताको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेको छ ।
संयुक्त विद्यार्थी संगठनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै महाकाली नदी पार गर्ने क्रममा भारतीय एसएसबीले टुइन काट्दा दार्चुलाको ब्यास गाउँपालिका– २ का जयसिंह धामी बेपत्ता भएको घटनाको पनि विरोध गरेका छन् ।
उनीहरूले भारतीय अपराधिक कार्यको भर्त्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गरे ।
धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेल लगायतका विद्यार्थी नेताहरुले प्रधानमन्त्री देउबालाई भेटेका हुन ।
संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेको भन्दै विरोध जनाएका छन् । उपकूलपतिको कारण परीक्षाको वातावरण बिथोलिएको भन्दै विद्यार्थी संगठनहरूले विद्यार्थीका जायज माग सम्बोधन गरी परीक्षा सूचारु गर्न माग गरेका छन् ।
त्यस्तै, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गरी समस्या समाधान गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्