
काठमाडौं । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगल निम्न आयस्रोत भएकाहरूलाई बरदान नै सावित भएको छ ।
चारकोशे झाडीभित्र पाइने निगुरोको साग बेचेर थुप्रै स्थानीयले घरखर्च चलाउँदै आएका छन् । एकाबिहानै जंगल प्रवेश गर्ने उनीहरू दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो संकलन गर्छन् ।
मिक्लाजुङ गाउँपालिका–३ की भीममाया विक छिमेकी महिलाहरूसँग दैनिक निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान ८ देखि दिउँसो ३ बजेसम्म एक डोको निगुरो संकलन गरेर गाउँ फर्कने गरेको उहाँ बताउनुहुन्छ ।
मधुमल्ला टाँडीकी देवीका दर्जी पनि महिलाहरूको समूह बनाएर डुम्रेको यो जंगलमा निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान बेलुकाको घरधन्दाबाट बचेको समय निगुरो टिपेर बेच्दा बालबच्चाको भरणपोषण र घरखर्चसमेत चलाउन सजह भएको उहाँको भनाइ छ ।
मधुमल्लाको टाँडीबाट निगुरो संकलन गर्न आउनुभएका मनबहादुर रसाइली पेशाले दैनिक ज्याला मजदुरी गर्ने मजदुर हुन । कोरोनाका कारण सुरु भएको निषेधाज्ञाले रोजगार गुमेपछि उहाँ पनि निगुरो टिपेरै दैनिक गुजारा चलाइरहनु भएको छ । निगुरो बेचेरै सबै खर्च नचले पनि भरथेग हुने गरेको उहाँको भनाइ छ ।
अधिकांश गाउँघरमै खपत हुने गरेको निगुरो पूर्वपश्चिम राजमार्गको सडक किनारमा समेत बिक्री हुने गरेको छ । पौष्टिक सागको रूपमा भान्सामा प्रयोग गरिने निगुरो २० देखि ३० रुपैयाँ प्रतिमुठा बिक्ने गर्छ । निगुरो प्राकृतिक रूपमै उम्रिने र हुर्किने भएकाले बिषादी र मलखाधको दुष्प्रभावबाट समेत मुक्त हुन्छ ।
प्रतिक्रिया दिनुहोस्