
काठमाडौं । शनिबार बस्ने भनिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणलगायतका विषयमा छलफल हुने तयारी गरिएको थियो ।
सत्ताबाट बाहिरिएलगत्तै नेकपा एमालेको पार्टीगत सक्रियता पनि बढ्दै गएको छ । पार्टीको संस्थापन समूह र माधवकुमार नेपालसहितको विद्रोही समूहबीच एकताको विषय लम्बिरहेको छ भने दुवै पक्षका नेताबीच घोचपेच जारी छ ।
विवादका बीच स्थायी कमिटीले गर्ने निर्णयले नेपाल समूहसँगको दूरीलगायत पार्टीका संगठन र भविष्यप्रति दुरगामी प्रभाव पार्न सक्ने भएकाले एमालेको बैठकप्रति सबैको ध्यान केन्द्रित छ ।
प्रतिक्रिया दिनुहोस्