१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सार्वजनिक सवारीमा मापदण्ड उल्लंघन : चालक भन्छन्, ‘सेनिटाइजर किन्ने पैसा पनि उठ्दैन’


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । अन्य दिनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न नसकेको आरोप खेप्ने यातायात व्यवसायी शनिबार भने सो आरोपबाट मुक्त हुन्छन् । यात्रु पनि कम हुने र सार्वजनिक सवारी पनि कम गुड्ने कारण शनिबार उनीहरूले यस्तो आरोप खेप्नुपर्दैन ।

सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई मास्क दिएर मात्र यात्रा गराउनुपर्ने नियम सरकारले बनाएको छ । तर, प्रहरीले जाँच गर्ने ठाउँ आएपछि मात्र परिचालकले मास्कको सोधखोज गर्छन् । शनिबार यात्रु कम भएकाले यो कामबाट पनि परिचालकले मुक्ति पाएका छन् ।

स्वास्थ्य मापदण्ड पालना गरेको दाबी गर्ने चालकहरू सुरक्षा मापदण्ड पालना गर्नुपर्दा कम यात्रुमा यात्रा गर्नुपर्ने भएकाले सेनिटाइजरको मूल्य समेत नउठ्ने बताउँछन् । पहिलाको जस्तो टन्न यात्रु राख्न नपाउँदा इन्धन हाल्ने पैसासमेत नउठ्ने उनीहरूको गुनासो छ ।

कोभिड–१९ प्रकोपको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ अनुसार एक सीटमा एक जनामात्र यात्रु राख्नुपर्ने हुन्छ । तर, मापदण्ड पालना भएको छैन । अहिले केही सहज भएकाले सो मापदण्डमा कडाइ गरिएको छैन ।

निषेधाज्ञा पछि साउन १ गतेबाट पूर्ण रूपमा सञ्चालनमा आएको यातायातमा स्वास्थ्य मापदण्ड उल्लंघन गरेबापत कारबाही गर्नुपरेको रेकर्ड नभएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता संजीव शर्मा दास बताउनुहुन्छ ।

कोभिड–१९ बारेमा नागरिकमा सचेतता त बढेको छ । तर, लापरबाहीका घटना पनि उस्तै छन्, जो कोरोना संक्रमण बढाउने कारक मध्येको एक हो । उपत्यकाका दैनिक साढे दुई सय सार्वजनिक सवारी साधनमा सचेतना अभियान चलाइएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ।

बहुसंख्यक नागरिकले प्रयोग गर्ने यातायात बन्द गर्दा जनजीवन नै अस्तव्यस्त हुन जान्छ । स्वास्थ्य मापदण्ड पालना गर्न भने यात्रु समेत जिम्मेवार बन्नुपर्ने छ । धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने भए पनि एकाध व्यक्तिले लापरबाहीले सार्वजनिक यातायात चढ्ने यात्रुमा कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् ।