१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक वर्षमा ८ लाखको हाराहारीमा करदाता थपिए


0
Shares

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा करको दायरा विस्तार भएको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्षमा ८ लाखको हाराहारीमा करदाता थपिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा ३६ लाख २४ हजार ९२१ व्यक्ति तथा संस्था करको दायराभित्र रहेकोमा गत वर्ष सो संख्या बढेर ४४ लाख ४६ हजार ९२६ पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ । प्यानमा अनिवार्य दर्ता हुनुपर्ने नीतिका कारणले पनि करको दायरा बढेको हो ।

तर, गत वर्ष राजस्व नै बढाउने किसिमले नीतिमा आमूल परिवर्तन आएर करदातको संख्या भने बढेको छैन । गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यक्तिगत प्यान दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा १९ लाख ५६ हजार १९३ जनाले व्यक्तिगत प्यान लिएकोमा सो संख्या बढेर गत आर्थिक वर्ष २४ लाख ७४ हजार ७६८ पुगेको छ । आयकर बुझाउने करदाताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा १३ लाख ३३ हजार ९१९ करदाता आयकरको दायारामा आएकोमा गत आर्थिक वर्षमा बढेर १५ लाख ७९ हजार ६४९ पुगेको छ । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ पनि अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ३८ हजार करदाता थपिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा मूल्य अभिवृद्धि करको दायरामा २ लाख ३१ हजार ३४५ करदाता रहेकोमा गत आर्थिक वर्षमा संख्या वृद्धि हुँदै २ लाख ६९ हजार २९३ जना आएको विभागले जनाएको छ । गत आर्थिक वर्षमा अन्तशुल्क दर्ताको संख्या पनि बढेर १ लाख ४ हजार ५० पुगेको छ । आर्थिक वर्ष २०७६–७७ मा सो संख्या ८९ हजार ९२ रहेको थियो ।