
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले धनगढीमा जुवाखालमा रहेका व्यक्तिहरुलाई प्रहरीले भगाएको भन्ने आरोप निराधार भएको बताउनुभएको छ ।
केही सञ्चारमाध्यमले प्रहरीले पैसा खाएर जुवाखालबाट जुवा खेल्नेहरुलाई भगाएको भन्ने समाचार सम्प्रेषण गरेपछि स्पष्टीकरण दिँदै एसपी अधिकारीले प्रहरीको यसमा कुनै संलग्नता नभएको स्पष्ट पार्नुभएको हो ।
सोमबार धनगढी उप-महानगरपालिका-३ मा रहेको केएफसी कटेजमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । प्रहरीलाई देख्नासाथ जुवा खेलिरहेकाहरु कटेजको ढोका फोरी फरार भएका थिए । जुवा खेलाउने कटेजका मालिक सुरेन्द्र ऐरलाई भने प्रहरीले पक्राउ गरेको एसपी अधिकारीले जानकारी दिनुभयो ।
‘केही सञ्चारमाध्यममा जुवाखालमा रहेकालाई पैसा खाएर प्रहरीले भगाएको भन्ने किसिमले समाचार आयो’ इमेजसँग कुरा गर्दै अधिकारीले भन्नुभयो, ‘त्यो निराधार हो हामीसँग सीसी टीभी फुटेज सुरक्षित छ आवश्यक पर्दा हेर्न सक्नुहुन्छ ।’ अधिकारीले अनुसन्धानमा प्रभाव पार्ने गरी समाचार सम्प्रेषण नगर्न पनि सञ्चारमाध्यमहरुलाई आग्रह गर्नुभएको छ ।
प्रहरीले जुवाखालमा यत्रतत्र छरिएका ८५ हजार र एक गठ्ठी तास बरामद गरेको छ । फरारहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्