
बिराज रोस्यारा,
कैलाली । भारतमा कैलालीका एकजनाको मृत्युु भएको छ । १५ साउनमा धनगढीको पशुपतिनाथ टुर्स एण्ड ट्राभल प्रालीको बसमार्फत भारत गएका जानकी गाउँपालिकाको दुर्गौलीका पशुपति आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आचार्यको भारतको बैङ्लोरमा १९ साउनमा मृत्यु भएको खबर प्राप्त भएको बताउँदै अहिले शव नेपाल ल्याउने काम भइरहेको जानकारी दिनुभयो ।
प्रारम्भिक जानकारी अनुसार आचार्यले बसबाट हाम फाल्दा मृत्यु भएको बुझिएपनि विस्तृत कुरा भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
तर, मृतकका आफन्तले भने उनको हत्या गरिएको भन्दै विरोध गरेका छन् । उनीहरूले शुक्रबार धनगढी बसपार्कस्थीत पशुपतिनाथ टुर एण्ड ट्राभल्स अगाडि प्रर्दशन गरेका छन् ।
सो क्रममा झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले दुवै पक्षलाई छुट्टयाएको थियो । घटना सम्बन्धि सोधपुछका लागि टुर एण्ड ट्राभल्सका सञ्चालकसहित केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्