
डोलराज रानाभाट
चितवन । चितवनको इच्छाकामनाका बासिन्दाको घर आँगनमै खानेपानीको धारा खसाल्ने इच्छा अझै पुरा हुन सकेको छैन् । घर नजिकै खानेपानीको पहुँच नहुँदा उनीहरुले अधिकांश समय खानेपानीको जोहो गर्देमा बित्ने गरेको छ । यहि ठाउँकी निरमाया चेपाङको निन्द्रा विहानै ३ बजे खुल्छ तर, रहरले भने हैन् । निन्द्राबाट उठ्नुपर्छ र नाम्लो सहित गाग्री तयार पार्नुपर्छ । झण्डै २ घण्टा पैदल हिँडेपछि वल्ल तल्ल खानेपानीको मुहानमा पुगिन्छ । सानो डोविल्को छ र त्यसैमा जम्मा भएको पानी दुई जना मिलेर भर्नुपर्ने वाध्यता छ र पनि यसरी दैनिकी वितेको वर्षौ भई सकेको छ ।
स्थानीय तहको निर्वाचन भयो । जनप्रतिनिधि चुनिएर नेतृत्वमा आए । धेरैले यो समस्याको सामधान गर्ने र घर अगाडि पानी खसाल्ने बचन दिएर भोट मागे । तर, अहँ भोट दिए पनि पानी भने अहिले सम्म आएन् । समस्या ज्यूँका त्यूँ छ उनीहरुको ।
पानीको दुखले वालवालिकाको समेत पढाइमा धेरै समय दिन पाउँदैनन् उनीहरु । पानीको दुख भएकैले गर्दा उनीहरु पनि विहानै वोत्तल र भाँडाकुडा लिएर सातधाराको कुवामा पानी लिन जान्छन् । जसका कारण विद्यालय जान समेत ढीलो हुने गरेको अप्सरा पुरीको गुनासो छ ।
वडाअध्यक्ष नन्दलाल गिरीले घर संख्या थोरै भएको र लिफ्टीङ मार्फत पानी ल्याउने कुरा भएपनि काम हुन नसकेको बताउनुभयो । घरसख्या थोरै भएकाले कुनै सहयोगी संस्था समते तयार नभएकोले समस्या ज्यूँका त्यू भएको उहाँको भनाई छ । यो ठाउँका झण्डै तीस घरभन्दा धेरै चेपाङ समुदायले टाढा टाढाबाट खानेपानी जोहो गर्नुपर्ने वाध्यता छ । पालो लागेर पर्खन पर्यो भने पानी ल्याउनै दिनभर लाग्ने समेत स्थानीयहरु बताउँछन् । त्यसैले काकाकुल झै देखिएको यस ठाउँमा खानेपानीको पहुँच पु¥याउन सके यहाँका चेपाङहरुको आर्शिवाद मिल्ने थियो ।
प्रतिक्रिया दिनुहोस्