१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नयाँ संसद् भवनको निर्माण कार्य छिटो सक्न सभामुखको आग्रह


0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित आयोजनालाई आग्रह गर्नुभएको छ ।

सभामुख सापकोटाले शुक्रबार भवन निर्माणको अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरूलाई तोकिएको समयमै भवनको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।

कोरोनाका कारण प्रतिकूलस्थिति रहेको उल्लेख गर्दै उहाँले भवन निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने काममा मिहिन ढंगले लाग्न पनि निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाइन्ट भेन्चर’को ध्यानाकर्षण गराउनु भयो ।

सभामुख सापकोटाले राष्ट्रकै सवैभन्दा गौरवपूर्ण आयोजना भएकाले यो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पूरा हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

संघीय संसद सचिवालयले सो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न समन्वय गर्नका लागि आवश्यक व्यवस्था मिलाउने पनि जनाएको छ । सभामुख सापकोटाले सो भवन निर्माणका लागि समन्वय गर्न संसद सचिवालयमा पनि जिम्मेवारी तोकिदिने जानकारी दिनुभयो ।

२० महिना अघिबाट निर्माण सुरु गरिएको आयोजनाको लागत करिव ५ अर्ब ६७ करोड ६१ हजार अनुमान गरिएको छ । साढे ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो भवनको निर्माणका कार्य सोचे अनुसार अघि बढन नसकेको आयोजनाको भनाइ छ ।

कोरोनाका कारण आवश्यक सामग्रीको व्यवस्थापन गर्न नसक्दा भवन निर्माणको काममा ढिलाई हुन गएको आयोजनाले जनाएको छ ।