
नरेन्द्र मानन्धर
काठमाडौं । कीर्तिपुरको पुरानो बस्ती मच्छेगाउँ । मत्छेनारायण लगायतका धार्मिक स्थलहरू रहेको यस ठाउँमा गाईपालक गोपालीहरूको प्रचिनकालदेखि बसोबास रहँदै आएको छ । यहाँ नेपालको अन्य ठाउँमा नभएको बौद्ध चैत्यसमेत छ । चैत्यभित्र अर्को चैत्य रहनु नै यसको मुख्य विशेषता हो ।
गोपालीहरूको पुर्ख्यौली थलो मच्छेगाउँ, जहाँ प्राचिनकालदेखि विभिन्न समुदायको बसोबास रहँदै आएको छ । हाल यहाँ विशेष गरी गोपाली, मानन्धर र ज्यापु लगायतका समुदाय बस्ने गर्दछन् । नरहरिपुर र मीनतीर्थ पनि भनिने यहाँ मत्च्छेनारायणको प्रसिद्ध धार्मिक स्थल छ । यही परिसरमा एउटा अनौठो बौद्ध चैत्यसमेत रहेको छ ।
मानन्धर दिदी–बहिनीले बनाएको भनिएको चैत्यभित्र अर्को चैत्य पनि रहेको छ । चैत्यको बाहिरी पत्र निकाल्दा भित्र अर्को चैत्य देख्न सकिन्छ । यस्तो डिजाइनको चैत्य नेपालको अन्य ठाउँमा पाइँदैन । बहिनीले निर्माण गरिसकेको चैत्यमाथि दिदीले अर्को चैत्य बनाएको स्थानीय ८२ वर्षीय लक्ष्मीनारायण मानन्धर बताउनुहुन्छ ।
यसरी दिदी बहिनीबीचकोे प्रतिस्पर्धाले करिव ३ सय १२ वर्षअघि यो चैत्य निमार्ण भएको देखिन्छ । जुन अहिले यस क्षेत्रको पहिचान बनेको छ । तर, यस चैत्यबारे खासै प्रचार भएको भने पाइँदैन ।
पूर्व वडाअध्यक्ष ध्रुव श्रेष्ठ यो नेपालकै विशेष चैत्य भएको दाबी गर्नुहुन्छ । यसको पुरातात्विक र ऐतिहासिक अध्ययन हुनुपर्नेमा उहाँको जोड छ ।
यस क्षेत्रमा मानन्धर समुदायले बौद्ध विहार र पाटीपौवाहरू निमार्ण गरेका छन् । स्थानीय युवा सुविन्द्र श्रेष्ठ यो विशेष चैत्यको संरक्षण र विशेषताबारे अनुसन्धान हुनपर्ने बताउनुहुन्छ ।
चैत्य जसले बनाए पनि यसको विशेषताकै कारण यो विशेष रहेको छ । नेपालको बौद्ध इतिहासमा यो चैत्यको विशेष महत्व र स्थान रहेको छ । तसर्थ यसको ठोस तथ्य उजागर गर्न आवश्यकसमेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्