३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


पाल्पामा सिँचाइका लागि अझै राजकुलोको प्रयोग

समानुपातिक प्रणालीको अवधारणा मार्फत राजकुलोको पानी बितरण हुँदै

13
Shares

भरत शर्मा

पाल्पा । पाल्पाको अर्गलीमा अहिले पनि कूलोको पानी वितरणमा समानुपातिक प्रणालीको अवधारणा मार्फत राजकुलोको पानी बितरण हुँदै आएको छ । नेपालको सबै भन्दा पुरानो र वैज्ञानिक तवरले निर्मित यहाँको राजकुलो धेरैका लागि अध्ययन अनुसन्धानको विषय पनि बनेको छ । जिल्लाका कही कतै स्थानमा सिँचाइका लागि पानी वितरण सन्तुलित नभएका बखतमा आपसी झै–झगडा र विवाद पनि हुने गर्दछन् ।

तर यहाँ भने पानी वितरण प्रणाली पाँच सय वर्ष अघिदेखि समानुपाति र वैज्ञानिक तवरले वितरण हुँदै आएको छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । यहाँको कुलो राज कुलोको नामबाट समेत परिचित छ । पाल्पाको सदरमुकाम नजिकै रहेको अर्गली फाँट सिँचाइका लागि सोह्रौं शताब्दीमा पाल्पाली सेनवंशीय मणिमुकुन्द सेन प्रथमद्धारा निर्मित कुलोको पानी वितरण प्रणाली अहिले पनि वैज्ञानिक रुपमा सञ्चालन हुँदै आएको किसानहरु बताउँछन् ।

खेतीका लागि उर्वर मानिने अर्गली फाँटमा करिव चार सय घर परिवारलाई राजकुलोको कारण बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । सात किलो मिटरमाथि बाट चट्टाने पहाड फुटालेर चार वटा कुलो निर्माण गरी सिँचाइको व्यवस्थापन सेनवंशीय राजाले गरेका थिए । वैज्ञानिक प्रणालीबाट पानी वितरण हुने र समय समयमा मर्मत रेखदेख समेत आलो पालो प्रणालीबाट हुँदै आएको राज कुलो सिँचाइ प्रणालीका – व्यवस्थापक लक्ष्मण पाण्डेले बताउनुभयाे ।

आलो–पालो प्रणलीका कारण सिँचाइको बेला पालो कुरेर बस्न नपर्ने हुँदा समयको बचत हुने र कोही कसैसँग झगडा गर्नु नपर्ने यहाँका किसानको अनुभव छ । जिल्लाकै अन्य स्थानमा राजकुलोको पानी लगाउने निहुँमा धेरै पटक भएका झगडा प्रशासनसम्म पुगेर मिलेकाछन् । तर यहाँ त्यस्तो नभएकाे बताउँछन् अर्गली किसान केदार पाण्डे ।

सिँचाइको लागि महत्वपूर्ण योगदान पु¥याउदै आएको राज कुलो पुरानो भए पनि पानी वितरण प्रणाली आधुनिक र सन्तुलित भएकाले अध्ययन अवलोकन गर्न आउनेहरु यहाँ पुग्ने गर्दछन् । कुलोको भरपुर प्रयोगबाट यहाँका किसानहरुले कृषि उत्पादन वृद्धि गर्दै आएका छन् । कूलोलाई थप आधुनिक र कृषकमैत्री बनाउन स्थानीय सरकार र कृषि सम्बद्ध निकायहरुले ध्यान दिन सके यहाँको कृषि पर्यटनमा थप टेवा पुग्ने देखिन्छ ।