
नारायणी लामिछाने
काठमाडौं । बजेटका लक्ष्यसँगै मौद्रिक नीतिका लक्ष्य र प्राथमिकता पनि परिवर्तन हुने भएकाले मौद्रिक नीति आम चासो र चर्चाको विषय बनेको छ । यद्यपि अर्थ मन्त्रालयले नरोेकेको भन्दै अर्थमन्त्रीले स्पष्टिकरण दिन भने छाड्नुभएको छैन । मुद्रा व्यवस्थापन र वित्तिय स्थायित्वको मुख्य औजार हो, मौद्रिक नीति ।
कोभिडले हरेक आर्थिक गतिविधि सुस्ताएको बेला राष्ट्र बैंकले तत्कालीन आवश्यकता अनुसारका सम्बोधन गरी त्रैमासिक समीक्षाबाट समेत बजेट अनुसारका कार्यक्रम थप्न सक्ने भएकोले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ गर्न नहुने पूर्व गभर्नर डाक्टर चिरन्जिवी नेपाल बताउनुहुन्छ ।
‘जस्तोसुकै परिस्थितिमा पनि केन्द्रीय बैंकले मौद्रिक नीति निकाल्नुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘मौद्रिक नीतले अर्थतन्त्रलाई स्थायित्व दिने भएकाले पनि राष्ट्र बैंकले सार्वजनिक गर्न ढिलो गर्नुहुँदैन ।’
कोभिडले होटल, पर्यटन तथा व्यावसायिक क्षेत्रले अर्बौं गुमाएका छन् । कतिपय उद्योग धन्दा बन्द छन् भने १५ लाख बढी रोजगारविहीन बनेको राष्ट्रिय योजना आयोगको तथ्याङ्क छ । अर्थतन्त्र चलायमान बनाएर स्टिमुलस प्याकेज ल्याउने तथा कर्जा प्राप्ती सहजीकरण गर्नका लागि पनि मौद्रिक नीतिमा ढिलाई गर्न नहुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष्य राजेन्द्र मल्ल बताउनुहुन्छ ।
यसबीचमा प्रतिनिधिसभाको अर्थ समितिले कोभिड प्रभावित अर्थतन्त्रलाई चलायमान बनाइ तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन निर्देशन समेत दिएको छ । तर, अझै सम्म पनि कहिले मौद्रिक नीति सार्वजनिक हुने टुङगो लाग्न सकेको छैन ।
राष्ट्रको वित्तिय व्यवस्थापन र मौद्रिक व्यवस्थापनको मुख्य अंगको रुपमा रहेको केन्द्रीय बैंकले लामो समयसम्म पनि मौद्रिक नीति सार्वजनिक गर्न बजेट पर्खिरहेका देखिएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने प्रमुख तथा स्वायत्त निकाय नेपाल राष्ट्र बैंक अलमलिँदा लामो समय बितिसक्दा समेत नीति सार्वजनिक हुने नसकेको हो ।
प्रतिक्रिया दिनुहोस्