१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोकिएन एमालेको घरझगडा : मध्यमार्गी विन्दु नभेट्दा क्षीण बन्दै एकीकरणको प्रयास


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)मा यदुवंशको लडाइँ चलेको महिनौं बितिसक्यो । तर पनि राजनीतिक लडाइँलाई विश्राम दिनेमा न संस्थापन न इतर दुवै पक्षको ईच्छाशक्ति देखिँदैन । कारण हो, आफ्ना गल्ती दुवै पक्षले नस्वीकार्नु ।

एकतर्फ पार्टीलाई विभाजनबाट जोगाउन पार्टी हित विपरीत गतिविधि नगर्ने सम्झौता गर्ने र अर्कोतर्फ त्यही सम्झौता कुल्चिएर दन्तबजान गर्नु शीर्ष नेताहरूको दैनिकी बनिसकेको छ । एउटै थलोबाट विवाद मिलाउन तयार नहुने तर गुटको भेलामा पानीबाराबारको चरित्र प्रदर्शन गर्ने शैलीबाट कार्यकर्ता आजित भएका छन ।

ओली पक्षले विभाग गठन, वडा तहदेखि नै अधिवेशन, विधान अधिवेशन गर्ने लगायतका कामलाई तीव्रता दिँदा नेपाल पक्ष पार्टी एकतामा थप संशकित बन्दै गएको छ । पार्टी एकताको लागि वार्ता चलिरहँदा यस्ता क्रियाकलाप जारी राख्नु एकतालाई भाँजो हाल्नु भएको नेपाल पक्षीय नेत रघुजी पन्त बताउनुहुन्छ । नेपाल पक्षले तत्काल यस्ता गतिविधि रोक्न संस्थापन पक्षसँग आग्रह गरेको छ ।

एमालेको शक्तिशाली सरकार ढाल्ने मतियार नेपाल बनेको निष्कर्षमा पुगेको ओली पक्ष नेपाल पक्षको कुनै आरोप सुन्न चाहँदैन । संगठन विस्तार, विभाग गठन, वडा तहदेखि नै अधिवेशन, विधान अधिवेशन लगायतका गतिविधि पार्टीको नियमित काम भएकाले यसले एकतामा कुनै पनि भाँजो नहालेको कार्यालय सचिवसमेत रहेको ओलीपक्षीय नेता शेरबहादुर तामाङ बताउनुहुन्छ । बरु उहाँ पार्टीमा फर्किएर आ–आफ्नो जिम्मेवारीका काम गर्न पनि आग्रह गर्नुहुन्छ ।

सत्ताबाट प्रतिपक्षमा पुगेको एमाले यतिबेला संसद्मा कडा प्रतिपक्ष हुनुपर्नेमा आफ्नै विवादको चक्रव्यूहमा फसेको छ । आफ्नै घरझगडा मिलाउन नसक्ने एमाले नेतृत्व कसरी प्रतिपक्षमा रहेर राजहाँसको भूमिका निर्वाह गर्ला भन्ने शंका सर्वत्र बढेको छ ।