२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


नेतृत्वको ‘डेट एक्पाएर’ हुने रहेछ कि कसो !


0
Shares

पेशल आचार्य

नेपाली राजनीति अहिले जाममा परेको छ । सरकार फेरिएको छ तर मन्त्रीहरू पूरा नियुक्त भएका छैनन् । हरेक काम किस्ता किस्तामा गर्ने रोग यहाँका पार्टी र सरकारमा सरेको छ । यो अब महामारीजस्तै भसक्यो । कोरोनाले फेरि डरलाग्दोसँग चेप्दै लगेको छ तर खोप पर्याप्त छैनन् । हिजोको सरकारले गरेका निर्णयहरू, बजेटका घोषणाहरू, कार्यक्रमहरू र राजनीतिक नियुक्तिहरू समेत अहिले धरमरधरमर भएका अवस्थामा छन् । कुनै पार्टीका नेताहरू तरलाग्दा कुरा गरिरहेका छैनन् किनकि उनीहरू विश्वस्त छैनन् कि आफूले गरेको कुरा एक हप्ता पनि टिक्दैनन् –यहाँ । सत्ता सञ्चालनमा मुख मात्र स्वदेशी तर निर्देशन र शैली सबै विदेशीको राइँदाइँ देखिन्छ ।

एम्सीसीबारे एमाले सत्तामा हुँदा एउटा कुरा अहिले अर्को दहीचिउरे कुरा गरिरहेको छ । उनीहरू आफ्नो पार्टीभित्र कुण्ठा पोखेर एक अर्को गुटलाई खुट्टा तान्नमै व्यस्त देखिन्छन् । यो बीचमा ओलीले भीम रावललाई येनकेन प्रकारेण आफ्नो गुटमा ‘यु टर्न’ गराइछाडे । भीम रावल जत्तिको राजनीतिज्ञले जे गरेका छन् त्यसबाट जनता राम्रै परिचित छन् । भनिरहनु परोइन कि नेपाली नेताको अन्तिम गन्तव्य भनेको सत्ताको ‘कुर्सी’ हो चाहे ती नेता जोसुकै किन नहून ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा विराजमान भएको करिब एक महिना बढी भैसक्यो तर पनि उनले आफ्नो गठबन्धन सरकालाई पूर्णता दिन सकेका छैनन् । किन ? उत्तर सपाट छ उनी जनादेश कम परमादेशबाट कुर्सीमा विराजमान भएका हुन् । त्यसो हुँदा उनले धेरैका कुरा सुनिदिनुपर्छ, मानिदिनुपर्छ । त्यसैले उनी वाचाल छन् । समय क्रमिकरुपले विना उद्देश्य भड्किरहेको छ थाहा छ उनलाई तर उनी केही गर्न सक्दैनन् ।

नेकपा हुँदै एमालेको गज्जबको बहुमतको सरकारमा आफैँले आफ्नो खुट्टामा बन्चरो हान्दै ओली महोदय तामझामका साथ बाहिर निस्किएनन् मात्र उनले आफू लगायत दोस्रो र तेस्रो पुस्ताको राजनीतिक भविष्य समेत मटियामेट बनाइदिए । सौताको रिसले पोइको काखमा आची गर्ने स्वभावका माधव नेपालहरूको गन्तव्य भनेको विदेशीहरूका लागि कम्फर्टेबल सरकार बनाइदिने नै हो ।

देउवा सरकारले आफू सत्तामा विराजमान भएपछि गरेको बहादुरीको कार्य भनेको ओलीद्वारा गठित भूमि सम्बन्धी आयोगलाई विघटन गर्नु हो । उनले देशैभरि एमालेका कार्यकर्तालाई जागिर खुवाउनका लागि गठन गरिएको सो आयोगले सुकुम्बासीहरूलाई जग्गा दिने सबालमा धेरै गृहकार्य गरेर जग्गा मात्र वितरण गर्न बाँकी रहेका र सो पनि दसैँछेक बाँडिसक्ने भन्ने बतारहेको थियो ।

सत्ता परिवर्तन हुँदा ससाना प्राविधिक कुराहरू परिवर्तन हुने नराम्रो संस्कारले नेपालमा नराम्रोसँग जरा गाडिसकेको छ । अलि पहिले चाहिँ पुरानो सरकार जाने र नयाँ सरकार आउने बित्तिकै महान्यायाधीवक्ता र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायत तिनका सदस्यहरू फेरिने चलन थियो । तर अहिले त पुरानाले राजनीतिक नियुक्ति दिएका जति सबै आफलेर आफ्ना पार्टीका हनुमानहरूलाई घुसाउने फोहोरी चलन आएको देख्दा जनतालाई दिक्क लागेको छ ।

‘अरूको त कुन गति जेठा बाउको भाङ्ग्राको मति’ भनेझैँ पुरानै राजनीतिज्ञहरूको क्रियाशीलता हुने राष्ट्रिय राजनीतिबाट जनताको लगभग विश्वास उठिसकेको देखिन्छ । आफ्नो पार्टी, त्यसमा पनि आफ्नो गुट र अझ उपगुटमा रमाउने संस्कारले जनता अझ यस्तो महामारीमा दिक्कवाक्क भैसकेका छन् ।

राजनीतिक विश्लेषक केशवप्रसाद भट्टराई भन्छन् –‘सन्दर्भ एस्इई परीक्षाको अनि तिम्रो दल भएर, तिमी मन्त्री–सांसद र न्यायाधीश भएर मात्र उठ्छ देश ? सरकारका श्रेष्ठतम् विश्वविद्यालयहरूमा विश्वका कुनै पनि कुनामा बस्ने मानिसले अनलाइनबाटै प्रवेश परीक्षा दिएर उत्तीर्ण हुन सक्दछन् । नियमित जस्तै समान मान्यताका स्नातक, स्नातकोत्तर र विद्यावारिधि डिग्रीहरूका परीक्षाहरू घरमै बसेर अनलाइनबाटै त्यस्तै श्रेष्ठतम विश्व विद्यालयहरूबाट लिन दिन सकिन्छ । हामी सक्दैनौ ? एस्इईका चार पाँच लखा विद्यार्थीमध्ये केही हजारलाई अनलाइन सुविधा नहोला, तर स्कुल, केन्द्र, प्रदेश र स्थानीय सरकारले त्यस्को विशेष व्यवस्था मिलाउन सक्लान् नि ! दुई वर्ष भयो हामीले स्कूल भर्ना भएका सबैलाई थोकमा एस्इईको प्रमाण पत्र दिने गरेका ।

परीक्षाका लागि मात्रै पढ्ने र पढाउने हाम्रो अभ्यासमा परीक्षामा स्वतः जस्तै उत्तीर्ण हुने भएपछि ? किन पढ्ने ? किन पढाउने ? बरु पढ्ने पढाउने समयमा दलको झन्डा बोकेर जुलुसमा जाने ! सरकारको परीक्षाबोर्डको काम भनेको स्कूलले पठाएको अङ्क चढाउने र अङ्क तालिका छापेर पठाउने मात्रै हो ? ११/१२ को अवस्था पनि खासै फरक भएन ! यी परीक्षामा श्रेष्ठतम् अङ्क ल्याएका विद्यार्थीहरूमा सन्तुष्टि र गौरव अनुभव भएको होला ? अनि अभिभावकको मनमा पनि ..?

यही समूहबाट आउने हुन् हाम्रा भविष्यका डाक्टर, इन्जिनियर, प्राध्यापक, शिक्षक, वकिल र पत्रकारहरू ! कोरोना नेता भएर पार्टी चल्ला, कोरोना अधिवेशन अनि कोरोना सभापति, महासचित भए पनि काम होला तर कोरोना म्याट्रिक, कोरोना डिग्री, कोरोना डाक्टर, कोरोना इन्जिनियर, कोरोना शिक्षक–प्राध्यापक, कोरोना पाइलटहरू, राजदूत, सचिव र महानिर्देशकहरू भएर देश चल्छ ? परीक्षालाई यस्तो सस्तो र ख्याल ख्यालको विषय बनाएर बन्छ विद्यार्थीको भविष्य ?’

‘पार्टीलाई पो ढुङ्गा हान्ने, रेलिङ् उखेल्ने, बन्दुक, लाठी र मुड्की बजाउने, मेच भाँच्ने विद्यार्थी, नेता, सांसद, मन्त्री भए भो ! देशलाई पनि त्यस्तै भए हुन्छ, भन्ठानेका छौं ? योग्य, सक्षम, आत्म विश्वास र स्वाभिमान भएका युवा चाहिन्न देशलाई ? तिम्रो दल भएर, तिमी मन्त्री–सांसद र न्यायाधीश भएर मात्र उठ्छ देश ? तिम्रा ढुङ्गा हान्ने र टायर बाल्ने अराजक भीडले बनाउँछ देश ?’

यतिखेर देशको चिन्ता ती भुइँ मान्छेहरूले मात्र गरिरहेका छन् जो राजनीतिक निर्णय लिने सक्ने स्थानमा छैनन् । अनि तिनीहरूले आफ्ना नेता र उपल्लो तहका कार्यकर्ताहरूलाई देश र जनताको हितमा हुन सक्ने राम्रो कामका लागि दबाव दिन सकेका छैनन । विश्लेषक भट्टराईको चिन्ता र चासो यही हो कि पढ्दै नपढीकन विद्यार्थीहरू जब माथिल्लो तह वा कक्षामा उकालिन्छन् अनि उनीहरूमार्फत् देशको भविष्य कस्तो होला त ? आफैँ पूर्वानुमान गर्न सकिन्छ ।

यो देशमा अब संविधान संशोधन गरेरै निर्वाचित जुनसुकै पदमा पनि दुईपटक मात्र जन प्रतिनिधिहरूले काम गर्न पाउने र हरेकको जिम्मेवारीमा कार्य सम्पादन मूल्याङ्कन हुनु पर्ने र निर्वाचित भएका जनप्रतिनिधिले समेत आफूभन्दा माथिल्लो पदको जनप्रतिनिधिबाट कार्य सम्पादन करार अनिवार्य रुपमै गर्नु पर्ने सिष्टमको विकास भयो भने मात्र यो देश अघि बढ्छ नत्र हरेक पाँचपाँच वर्षमा आउने र जाने भीडहरूले गरेका अविवेकी, योजनाविहीन र सनकका कार्यहरूले यो देशमा सिष्टमको विकास हुन्छ भनेर कल्पना गर्नु दिउँसै तारा देखिनु हो । जो कहिल्यै सम्भव छैन/हुँदैन ।

संसदले प्रधानमन्त्री छान्ने खेलको समेत यसै पटकदेखि बेमौत अन्त्य भएको देखियो । आफ्नै पार्टीका निर्लज्ज सदस्यहरूलाई पार्टीको ह्वीप लागेन भने अब पार्टीका ऐँचमा संसद सदस्यहरू नरहेपछि बाहिर जनतामा कस्तो सन्देश प्रवाह भयो होला । दुई पार्टीका शीर्षस्थ नेताहरूले एकअर्कालाई मौखिक र लिखित रुपले लगाएका आरोपहरू तिनीहरूका अभिव्यक्ति, भाषण र जोकरझैँ हसाउने पहेलीहरू भर्खर सिक्दै र पढ्दै गरेका नयाँ पुस्ताले सिके भने भविष्यमा कसरी अवलम्बन गर्छन् होलान् ?

रहेनन् अब आन्तरिक र बाह्य इथिक्सका कुनै कुराहरू पनि संघ, संस्था, पार्टी र निकायहरूमा । जसले जे बोले पनि भाको छ, जसले जे गरे पनि भाको छ । आफ्नो कार्यले आफ्नो संघ, संस्था, पार्टी र निकायहरूमा पहिरो गएको छ भन्ने कुरा पनि उसले बुझेर समेत बुझ पचाइरहेको स्थिति छ । ऊ आफैँ गलत कार्य गरेर भाइरल हुन चाहन्छ तर समाज अनि लोकको लाज समेत राख्दैन । यस्तो संस्कृतिको अवलम्बन गरेर हामी कस्तो गणतन्त्रात्मक चरित्रलाई संस्थागत गर्न खोजिरहेका छौं ? यो वर्तमान विसंगत समयको यक्ष प्रश्न हो ।

देशकै सबैभन्दा बूढो विश्व विद्यालयबाट भौतिकशास्त्रका अब्बल ग्रेडमा स्नातकोत्तर मेधावी विद्यार्थी रमेश घिमिरे आफ्नो फेसबुक वालमा लेख्छन् –‘देखेको दृश्य । बूढो गोरुजस्तो तदर्थवादी काँग्रेस, ठूलाठूला गफले च्यूरा भिजाउने वितरणवादी एमाले, पहिले हिँसामुखी तर अहिले पैसामुखी जता मल्कु उतै ढल्कु भएको माओवादी, मुखमा जनता र व्यवहारमा आफ्नोआफ्नो दलको छाप लागेको मान्छेहरूको देश, नेपाल ?’
घिमिरेले भनेजस्तै यहाँ पद र सत्ता नपाउन्जेल मात्र जोकोही पनि इमान्दार हुने गर्छन् । जब पद र सत्ता पाउँछन् अनि दिन दुगुना रात चौगुना बेइमानहरूको हिट लिष्टमा सबैभन्दा माथि हुन्छन् । यसलाई भन्छन् –अजव नेपाल र गजब चाल । भर्खरै सर्वोच्च अदालतले गरेको आरक्षणको फैसलामा रमेश अघि भन्छन् –‘तरमारा वर्गको कब्जाबाट आरक्षण हट्नै पर्छ । एउटै व्यक्तिले पटकपटक एकै प्रकारको आरक्षणबाट लाभ पाइरहेको विद्यमान् अवस्थामा आएको सम्मानित सर्वोच्च अदालतको फैसला मननयोग्य लाग्यो । यसलाई कार्यान्वयन गर्ने काम यथाशीघ्र होस् ।’शेरबहादुरको अहिलेको सरकारमा गगन थापा मन्त्रीमा नअट्ने भनेपछि गुटको राजनीति कस्तो पेचिलो भएको हो ? देउवाको पाँचौं इनिङ्समा समेत उनलाई समयले हिजो विगतमा उनले गरेका गल्ती र धमिलिएको छवि सुधार्ने अन्तिम मौका दिएका जो छ तर उनले यो मौकाको उचित व्यवस्थापन गर्न सकेनन् भने राजनीतिक जीवननै असफल भएर इतिहासमा दर्ज हुन बेर लाग्दैन चाहे जतिसुकै पटक प्रधानमन्त्रीको पदमा बसून् ।

जनताको हृदयमा बस्न सक्ने काम गर्नका लागि उनको किचन क्याबिनेटका सल्लाहकारहरूले समेत ऐनमौकामा व्यवहारिक सल्लाह दिनुपर्छ न कि विदेशीको कम्फर्ट सरकार बनेर सधैँ डोरमेट बनिरहने । हिजो ओलीलाई पनि उनका सल्लाहकारहरूले सन्काएर सगरमाथाको टुप्पोमा नपु¥याएका भए आज यति चाँडै उनको शासनको अवसान हुने थिएन । प्रधानमन्त्री भनेको देश बनाउने र आफ्नो तथा आफ्नो पार्टीको इतिहास लेख्ने त्यो सुवर्ण अवसर हो जो सबै त्यही पार्टीका पनि सबै सदस्यहरूलाई चाहेर पनि जीवनमा प्राप्त हुन सक्दैन ।

ऐनमौकामा जनताका लागि गर्ने पर्ने राम्रा र दूरगामी कार्यहरू गर्न सकेनन् भने राजनीतिक व्यक्तित्वको समेत ‘डेट स्पायर’ हुन्छ भन्ने कुरा अब अहिलेका देशका प्रमुख कार्यकारीको कार्यशैली, सोच र चिन्तनबाट जनताले केही महिनामै थाहा पाइहाल्ने छन् !