३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


तरकारी खेतीमा भैरहवाको नेपाल सहकारी, लगानी ५८ लाख


0
Shares

दीपक घिमिरे
भैरहवा । भैरहवास्थित नेपाल बहुमुखी सहकारी संस्था लिमिटेड पछिल्लो समय कृषि लागेको छ । स्थापनाको लामो समयसम्म वचत तथा ऋणको कारोबार गर्दै आएको सहकारी अहिले कृषिमा लागेको हो ।

गत वर्षदेखि सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा साढे ५ बिगाहा जमिन १० वर्षको लागि भाडामा लिएर तरकारी र फलफूल खेती सुरु गरेको सहकारीले यस वर्षदेखि टनेल खेती सुरु गरेको छ । सहकारीले टनेल निर्माण गरी मौसमी र बेमौसमी तरकारी खेती गर्न थालेको हो ।

सिद्धार्थनगर नगरपालिका र अन्र्तराष्ट्रिय गैर सरकारी संस्था जीआईजेडको आर्थिक सहयोगमा सहकारीले निर्माण गरेको टनेलमा उन्नत जातको टमाटर, बन्दा, भिन्डीलगायतको खेतीको सुरुवात गरेको हो । सहकारीले गोनहियामा ३ बिगाहामा कागती खेती सुरु गरेको छ भने बाँकी जग्गामा तरकारी खेती सुरु गरेको छ ।

सरकारीलाई वचत तथा ऋणको अलवा उद्यमशीलतासँग जोडेर शेयर सदस्यको चुल्होसम्म पुग्नुपर्छ भन्ने अवधारणाले तरकारी तथा फलफूल खेतीमा लागेको सहकारीका सचिव भानु पौडेल बताउनुहुन्छ ।

सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेल नगरपालिकाले सहकारी र कृषिको क्षेत्रमा लगानी विस्तार गरेको बताउनुहुन्छ । सहकारीलाई उद्यमशीलतासँग जोड्न र किसानहरूको स्तरोन्नत्ति नै सहकारीको लक्ष्य भएको उहाँको भनाइ छ ।

तापक्रम अत्यधिक भएका तराईका जिल्लाहरूमा भदौदेखि जेठसम्म बेमौसमी तरकारी उत्पादन गर्न किरा नछिर्ने जाली, अल्मुनियम नेट र जीआई पाइप प्रयोग गरिएका जाली–घर उपयुक्त मानिने भएकोले अहिले यसको प्रयोगमा लागेको सहकारीका कृषि समिति सह–संयोजक विष्णु आर्चायको भनाइ छ ।

११ लाख २८ हजार रुपैयाँ लागत अनुमान गरिएको उक्त प्रविधिको लागि जीआईजेडले ६ लाख ७१ हजार रुपैयाँ प्रदान गरेको छ । जसमध्ये टनेल निर्माणमा मात्र ६ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ ।

४ लाख ५७ हजार रुपैयाँ सहकारीले लगानी गरी त्यस सम्बन्धी आवश्यक प्राविधिक तालिम, विउविजन, औजार लगायतको सामाग्री खरिद गरिने सहकारीले जनाएको छ । सहकारीले हालसम्म ५८ लाख रुपैयाँ लगानी गरिसकेको छ ।