
काठमाडौं । नेकपा एमालेको प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समस्या ठानेको आरोप लगाउनुभएको छ ।
पार्टी केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालपानीको विषयलाई सरकारले समस्या ठानेको बताउनुभयो ।
‘संयुक्त सरकारको कार्यक्रममा समेटिएको लिम्पियाधुरा, कालापानी र लिपुलेक सम्बन्धी सीमा समस्या समाधान गर्ने भनेको के हो ?’ उहाँले प्रश्न गर्नुभयो, ‘गतवर्ष नै सरकारले आफ्नो बनाइसकेको र संसद्ले सर्वसम्मतिले आफ्नो बनाइसकेको होइन ? वार्ताद्वारा पहल गरेर भूमिको भोगचलन गर्ने भन्ने होला नि ? समस्या हो र ?’
ज्ञवालीले केन्द्रीय कमिटी बैठकमा सरकारले गरेको कामबारहीको विषयमा पनि चर्चा भएको बतानुभयो । सरकारले बनाउने भन्दा पनि भत्काउने कामबाट आफ्नो काम सुरु गरेको आरोप लगाउनुभयो । संविधानमा भएको हरेक नागरिकले आवास पाउनुपर्छ भन्ने व्यवस्थाविरुद्ध सरकारले भूमिसम्बन्धी समस्या समधान आयोग खारेज गरेको उहाँको तर्क छ ।
एमाले केन्द्रीय कमिटी बैठकले पूववर्ती सरकारले व्यवस्था गरिसकेको खोपको पनि सही ढंगले लगाउन नसकेकोमा सरकारको आलोचना गरेको छ । नेताहरुको आवास र होटलमा खोप भेटिनुलाई बैठकले गम्भीरताका साथ हेरेको ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्