१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यस्तो थियो दरबारको सिनेमा हल, अन्तिम पटक हेरिएको थियो ‘देवदास’ र ‘स्पाइडर म्यान’


2.015k
Shares

गृष्मा राजभण्डारी
काठमाडौं । प्रत्येक शुक्रबार राजपरिवारका सदस्य भेला भएर सिनेमा हेर्ने नारायणहिटी दरबारको प्यूठान सदनमा रहेको हल संरक्षणको अभावमा खण्डहर बन्दैछ । हलको भौतिक संरचना मात्र हैन, राजसंस्थाको इतिहास अभिलेख भएका महत्वपूर्ण भिडियो सामग्री समेत नष्ट भएका छन् । सर्वसाधारणका लागि खुल्ला गर्ने निर्णयसँगै ती सम्पदा जोगाउन केही प्रयास भए पनि पर्याप्त देखिँदैन ।

नारायणहिटी राजदरबारमा रहेको सिनेमा हलमा २०५९ भदौ २८ गते तात्कालीन राजा ज्ञानेन्द्रले अन्तिमपटक ‘देवदास’ र ‘स्पाईडर म्यान’ चलचित्र हेर्नुभएको थियो । त्यसपछि राजपरिवारका कुनै सदस्यले यहाँ बसेर सिनेमा हेरेको रेकर्ड देखिँदैन । गज्जब त के भने राजपरिवारका सदस्य जसले सिनेमा हेरे पनि यहाँ रहेको लगबुकमा नाम लेख्नुपर्ने नियम छ । सिनेमा हल भएको ठाउँ प्यूठान सदन नामले परिचित छ ।

सिनेमा स्कोप पर्दा रहेको यो हल १ सय २२ सीट क्षमताको छ । सीटको बीच भागमा राजा रानी र युवराजका लागि छुट्टै सीटको प्रबन्ध छ । चुरोट सेवन गर्नेका लागि ठाउँ ठाउँमा एस्ट्रे पनि राखिएको छ । भित्तामा टाँगिएको पूर्वयुवराज दीपेन्द्रको तस्वीरले शाही शासनको झल्को दिन्छ । सिनेमा हलमा प्रदर्शन गरिएको पहिलो नेपाली चलचित्र ‘हरिशचन्द्र’ हो । जुन चलचित्र राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्रसम्म हेर्नुभएको थियो ।

प्रत्येका हप्ताको शुक्रबारका दिन यही सिनेमा हलमा राजपरिवारका सदस्यहरू भेला भई सिनेमा हेर्ने प्रचलन थियो । त्यतिमात्र होइन देशका महत्वपूर्ण समारोह साथै विदेशबाट राजकीय भ्रमणमा आएका आगन्तुकहरूको गतिविधि यही सिनेमा हलमा प्रदर्शन गरिन्थ्यो ।

ज्ञानेन्द्र शाहअघि पूर्वयुवराज पारस शाहले पूर्व नवयुवराज हृदयेन्द्रको पास्नीमा खिचेको भिडियो हेरेको बताइन्छ । संरक्षण नहुँदा रिलभित्र कैद महत्वपूर्ण सामग्री नष्ट भइसकेका छन् । बचेका सामग्री डिजिटलाइजेशन गर्ने प्रक्रिया अघि बढेको छ । यद्यपि बजेट अभावका कारण सोचे अनुरुप काम अघि बढ्न नसकेको नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल बताउनुहुन्छ ।

‘यहाँ रहेका रिलहरूलाई चलचित्र विकास बोर्डले भारतमा लगेर डिजिटलाइजेसन गराएर ल्याउनेगरी कार्ययोजना बनाउने क्रममा छौँ,’ उहाँ भन्नुहुन्छ, ‘कोरोनाको कारण देखाएर गतवर्ष पनि संग्रहालयलाई एक रुपैयाँ विकास बजेट दिइएन, यस वर्ष पनि दिइएको छैन ।’ सबै कार्ययोजनाहरू पेश भइसकेको अवस्थामा बजेट नभएकै कारण रोकिनुपरेको उहाँको भनाइ छ ।

सिनेमा हलअगाडि भागमा रहेको प्रोजेक्टर कक्षमा असंख्य मात्रामा पुराना ढाँचाको जापानबाट ल्याइएको ऐतिहासिक प्रोजेक्टर र मेसिन अलपत्र अवस्थामा छन् । यसको संरक्षण र पुनःप्रयोगको उपायबारे थुप्रै प्रश्न छन, तर कसैसँग उत्तर छैन । इतिहासको साक्षीका रुपमा रहेका यी सम्पदा नष्ट हुनबाट जोगाउनु सवैको कर्तव्य हो । ज्ञानका लागि यो भन्दा ठूलो भण्डार अरु कतै छैन ।