७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चितवनका भूकम्प पीडितको बिजोग, ६ वर्षसम्म बाँस र टिनकै छाप्रोमा बास (भिडियाेसहित)


0
Shares

डोलराज रानाभाट
चितवन । चितवनका भूकम्प पीडितले अझै न्याय पाउन सकेका छैनन् । शुरुमा स्थायी बसोवासको आश देखाएर समथर भागमा बसाए पनि इच्छाकामना– ७ सिमलढापका बासिन्दा अझै टहरामै दिन गुजारीरहेका छन् ।

२०७२ सालको भुकम्पले उठिवास बनाएको सुमित्रा कामीलाई अझै चैन छैन । इच्छाकामना गाउँपालिका– ६ कोयलघारीमा आफ्नै जमिनमा उहाँको परिवार रमाइरहेको थियो । महाभूकम्पले बस्ने ठाउँनै जोखिपूर्ण भएपछि उहाँहरु सोही गाउँपालिकाको वडा नम्वर ७ सिमलढापमा आइपुग्नुभयो ।

तत्कालीन समयमा सरकारले दिएको बाँस र टिनमै यतिका वर्ष गुजार्नु भयो । तर उहाँले न त भूकम्प पीडितले पाउने अनुदान पाउनुभयो न सोही ठाउँमा घर बनाउन दिइयो । घर बनाउन थालेपछि अनुदान पाइन्छ भनेर सरकारी कर्मचारी र इन्जिनियरले बताएका थिए । तर खोलाबाट ढुँगा गिटी वालुवा वोकेर जग हालेपनि जिल्लाबाट गएकाले जगनै भत्काइ दिएको सुमित्राको गुनासो छ ।

सरीमाया गुरुङको पीडा पनि उस्तै छ । ठूलाठूला सुकेका रुख हावाहुरीले लडाउँदा केही वर्ष पहिले छिमेकी गुमाउनु प¥यो । बाँस कुहिन थालेका छन् भने टिन खिया लागेर नाश हुँदैछ । यति विजोग हुँदा पनि भूकम्प पीडितको घर बनाएर किस्ता दिएको पुननिर्माण प्राधिकरणले केन्द्रमा प्रगति सुनाइ रहँदा आफूहरुको पीडा नबुझेको उहाँ गुनासो गर्नुहुन्छ ।

उहाँजस्तै यस ठाउँका ६० घरपरिवार अझैसम्म टहरोमै बस्नु परेको छ । सानो घरमा सबै परिवार बस्नु पर्दाको पीडा आलिशान बंगला र कुर्सीमा बस्ने नेताहरुले नबुझेको उनीहरुको गुनासो छ । ६७ वर्षीय धनलाल सुनारलाई सरकारले घर बनाइदिने आशा अझै छ । यतिका वर्ष बसेको ठाउँबाट कहाँ जाने ? यो प्रश्न गर्दै सरकारसँग स्थायी बासको व्यवस्था गरिदिन माग गर्नुहुन्छ ।

सुकेका रुख मात्र भएको कवुलियती वनमा बसिरहेको भन्दै यहाँका ६० घरपरिवारले बाँस र टिनको टहरोबाट व्लकको भएपनि घरमा बास बस्ने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् ।