
काठमाडौं । कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ । तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितिले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ ।
पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि खनारले पहिलो चरणको लकडाउन सुरु भएयता कम्पनीको उत्पादन क्रमशः घट्दो क्रममा रहेको जनाएको छ ।
तेस्रो मुलुकबाट अर्डर निकै कम मात्रामा आउने गरेकाले समेत उद्योग सञ्चालनमा चुनौती बढेको पल्स फेसन सोलुसन प्रा.लिका सञ्चालक निमेश प्रधानको भनाइ छ ।
तयारी पोशाक उद्योगसँगै सुनसरीको खनारमै रहेको बिस्कुट उद्योगले समेत कोरोनाका कारण राम्रो बजार पाउन नसकेको जनाएको छ । बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्दै आएको एशिएन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले विद्यालय तथा कलेजहरु बन्द रहँदा उत्पादन कटौतीको सामना गर्नु परिरहेको जनाएको छ ।
कोरोनाका कारण माग कम हुँदा उद्योग पूर्ववत अवस्थामा सञ्चालनमा आउनै नसकेको एशिएन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लिका महाप्रबन्धक महेशप्रसाद शाहले बताउनुभयो ।
सुनसरीमा रहेका अधिकांश उद्योगले कोरोनाका कारण उत्पादन कटौतीको समस्या झेलेका छन् । पटक–पटकको लक डाउन झेलेका त्यस्ता उद्योग पछिल्लो समय तेस्रो लहको जोखिम बढेकाले समेत उत्पादन बढाएर जोखिम मोल्ने अवस्थामा छैनन् ।
प्रतिक्रिया दिनुहोस्