
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । भेटमा अध्यक्ष पन्तले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।
अध्यक्ष पन्तले हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरूको उद्धार, नेपाल ल्याइएका श्रमिकहरूको पुनःस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष पन्तले आग्रह गर्नुभयो ।
सो अवसरमा उपस्थित संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गर्नुभयो ।
यस्तै उहाँले लामो समयदेखि विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।
भेटमा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा संघका उपाध्यक्ष द्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थय समितिका संयोजक डा. संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थिती रहेको गैरआवासीय नेपाली संघको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्