१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिदीका पहिरोपीडितलाई एक वर्षपछि अस्थायी घर

त्रिपालबाट घरमा स्थानान्तरण हुन पाउँदा स्थानीय मख्ख

0
Shares

किरण थापा
सिन्धुपाल्चोक । एक वर्षसम्म हावाहुरी, घाम पानी र विभिन्न समस्या झेल्दै आएका लिदी पहिरो पीडितले ढिलै भए पनि अस्थायी घरमा बस्न पाएका छन् । गत वर्ष असार ३० गते लिदीमा गएको पहिरोले विस्थापित बनेका ३१ परिवारले अस्थायी आवास पाएका हुन् ।

लिदी पहिरोमा परी ३९ जना पुरिएका थिए । ३९ मध्ये ३७ जना भेटिए भने २ जना अझै बेपत्ता छन् । पहिरोबाट विस्थापित परिवारलाई जुगल गाउँपालिकाको सेलाङस्थित बासखर्कमा आवास निर्माण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको अग्रसरता र गाउँपालिकाको सहयोगमा नेपाली सेनाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।

अस्थायी भए पनि लामो समयपछि घरमा बस्न पाउँदा सुरक्षित महसुस भएको स्थानीय सावित्री तामाङ बताउनुहुन्छ । विस्थापित भएको एक वर्षसम्म पहिरो पीडितले टेन्ट र त्रिपालमा कष्टकर जीवन बिताउँदै आएका थिए । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको अग्रसरतामा अस्थायी आवासको निर्माण सुरु गरिएको हो ।

नेपाली सेनाको गोरख बक्स गण र कालिजङ गणले यही स्थानमा अस्थायी आवास निर्माणको काम गरेको हो । अस्थायी घर बनेसँगै टहराको कष्ठकर जीवन अन्त्य भएपछि थानीय दोर्जे दोङ निकै खुसी देखिनुहुन्छ ।

सिन्धुपाल्चोकमा हरेक वर्षजसो आउने विपद् प्रतिकार्यको योजना बनाएर कार्यान्वयन गर्दै आएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यस्ता खाले अस्थायी आवास अरु ठाँउमा पनि निर्माण गर्नसके विपद् प्रतिकार्यमा थप सहयोग पुग्ने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको भनाइ छ ।

विपद् प्रतिकार्यका लागि हरेक पालिकाले खुल्ला स्थानमा सार्वजनिक भवनसँगै संरचना निर्माण गर्न सकेमा विपद्को समयमा प्रभावितले त्रिपालभित्रको दुःख झेल्नु नपर्ने थियो । तर, ढिलै भए पनि कष्टकर जीवन बिताइरहेका पहिरो पीडितले राहत पाएका छन् । त्यसका लागि सबै सरोकार निकायलाई धन्यवाद भन्नैपर्ने हुन्छ ।