
राजेश जीसी
प्यूठान । नेपालमा कोरोनाको तेस्रो लहर आउने र सबैभन्दा धेरै बालवालिका प्रभावित हुने चिकित्सकले चेतावनी दिएका छन् । तर, प्यूठानमा भने पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिएको छ ।
निषेधाज्ञा खुकुलो बनाएसँगै गाउँ–गाउँमा संक्रमितको संख्यामा वृद्धि हुँदै गएको हो । झिमरुक गाउँपालिका–१ मा परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि भयो । पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिएपछि वडा नै शिल गरिएको झिमरुक गाउँपालिकाका–१ का अध्यक्ष धु्रव खनालको भनाइ छ ।
गाउँमा हुने विवाह, ब्रतबन्धलगायतका जमघट हुने सामाजिक कामबाट गाउँमा कोरोना फैलिएको आंशका गरिएको छ । गाउँमा ज्वरो, रुघाखोकीका बिरामी बढेपछि परीक्षण गर्दा झिमरुक गाउँपालिका सौतामारेमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गाउँभरी कोरोना संक्रमित हुदाँ पनि सावधानी नअपनाइएको स्थानीय प्रकाश विकको गुनासो छ ।
प्यूठानमा कोरोना संक्रमण फैलिँदा यातायातका साधन, सार्वजनिक स्थल, पसल लगायतका स्थानमा भिडभाड बढेको छ । सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालन गर्न छाडेका छन् । पहाडी जिल्लामा २ सय भन्दा बढी संक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सरकारले तोकेको मापदण्डमा उल्लेख छ ।
प्यूठानमा २ सय २२ जना सक्रिय संक्रमित पुगेका छन् । जिल्ला प्रशासन कार्यालयले रोकथामका लागि भन्दै निर्देशन र आदेश जारी गर्ने काम मात्र गरेको छ । तर, प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल भने कोरोनासंक्रमण रोकथामका लागी सबै प्रयास गरेको दावी गर्नुहुन्छ ।
संक्रमितको सख्या दैनिक बढ्दै जाँदा पनि स्वास्थ्य सावधानी नअपनाउँदा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । संक्रमण रोकथामका लागि स्थानीय तह र डीसीसीएमसीले समयमै उचित कदम चाल्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्