
एलबी विश्वकर्मा
काठमाडौं । नामको धर्मशाला, व्यवहार तारे होटल । भारत सरकारले पशुपतिनाथ दर्शनका लागि आउने दर्शनार्थीका लागि निःशुल्क बास बस्न बनाइदिएको धर्मशाला होटलमा परिणत गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको जग्गामा बनेको धर्मशालालाई कोष प्रशासनले निर्लज्ज ढंगले भाडामा लगाएको हो । होटल आनन्दका नाममा चलेको यस लजमा एकरात बिताउन कोठाको ५५ सय रुपैयाँसम्म खर्चनुपर्छ ।
नेपाली संस्कृतिमा पाटीपौवा सबैको हक लाग्ने ठाउँ हो । पाटीपौवामा बास बसेको खर्च तिर्नुपर्दैन । यदि परिहाले सर्वसाधारणको गक्षअनुसार दिने भुक्तानी नै त्यसको दररेट हुन्छ । पशुपति विकास कोषको स्वामित्वमा रहेको धर्मशालाको किस्सै बेग्लै छ ।
दाता भारत सरकार । तर, मनोमानी पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको । अहिले यो धर्मशाला निजीक्षेत्रको बतास अर्गनाइजेशनले मनलाग्दी ढङ्गले चलाइरहेको छ । कोषसँग सम्झौता विपरीत हजारौँको दर रेट राखेर कोठाभाडा असुलिएको छ ।
होटलमार आश्रम, ओम, नम र शिवाय गरी चार प्रकृतिका कोठाहरु भएको र त्यसका लागि पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेको होटल आनन्दका निर्देशक विवेक बताउनुहुन्छ । आफूहरुले उक्त दररेट भन्दा माथि गएर रकम लिन नपाउने उहाँको भनाइ छ ।
अचम्म त के छ भने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी थाहा नपाए झैं होटलको यस्तो दृश्य हेरेर बसेका छन् । लाग्छ, यो कामका लागि कोषको मौन समर्थन छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा आफूहरुले मापदण्ड तोकिदिएको र तोकिएको भन्दा बढी शुल्क लिएको खण्डमा कारबाही गर्ने बताउनुहुन्छ ।
कोषका पदाधिकारी होटल सञ्चालकको बचाउमा उत्रिनुलाई आफ्नो कर्तव्य ठान्छन् । बरु बाहिर खाना खाएर बास त्यहाँ बस्न उनीहरूको सुझाव छ । होटलमा खाना खाँदा बढी मूल्य पर्नसक्ने स्वीकार गर्दै कार्यकारी निर्देशक खतिवडा आफूहरुले बासस्थानमो मात्र दररेट तोकिदिएको बताउनुहुन्छ ।
भारतीय सरकारले बाहिर लजमा खर्च गरेर बस्न नसक्ने भक्तलाई लक्षित गरेर धर्मशाला बनाइदिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमै आएर आफ्नो भाषणमा धर्मशाला बनाउनुको उद्देश्य प्रष्ट गर्नुभएको थियो ।
पशुपतिको समग्र विकासका लागि छानिने कोषको नेतृत्व विनासका यस्तै–यस्तै विवादमा तानिने गरेको छ । मित्रराष्ट्रले बनाइदिएको धर्मशालालाई त तारे होटल बनाइन्छ भने त्यहाँ हुने गरेका गैरकानुनी अन्य कामका प्रकृति कस्ता होलान ? सहजै अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्