१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मास्क नलगाउनेलाई ईमेजको प्रश्न– मास्क खोइ ?


0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । कोभिड–१९ संक्रमण बढ्दो छ । अस्पतालमा पाइला राख्ने ठाउँ छैन । दिनहुँ गन्ती नहुने मृत्युले जनजीवन आक्रान्त छ । तर, सर्वसाधारणमा हेलचेक्र्याईंले सीमा नाघेको छ । बजारको दृश्य देख्दा लाग्छ– कोभिड एकादेशको कथा भइसकेको छ ।

सरकारले तेस्रो चरणको कोभिड खतरानाक हुने प्रक्षेपण गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अनावश्यक काममा घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । आमसञ्चारमाध्यमबाट सचेतनाका लागि आव्हान भइरहेको छ । सरकारी अधिकारीहरू पनि स्वास्थ्य मापदण्ड पालना गराउन दिनरात लागेकै छन् ।

स्थानीय प्रशासन त मुख–मुखमा मास्क खोज्ने अभियानमा जुटेको छ । तर, जनस्तरमा लापरवाह बढ्दो छ । बजारको दृश्य अझ डरमर्दो छ । रेस्टुरेन्टलाई सरकारले टेक वेको मात्र सुविधा दिए पनि उनीहरू भित्रभित्रै ग्राहक बटुलिरहेका छन् । शहरको केन्द्र भागको जनजीवन अस्तव्यस्त र भीडभाडयुक्त छ ।

मास्क नलगाउने सर्वसाधारणलाई मास्क खोइ भन्दा गजब–गजबको जवाफ पाइयो । कसैले अब लगाउने भनेर जवाफ दिँदा कसैले विभिन बहानावाजी गरे । कतिपयले भने आफूहरुले नलगाएर गल्ती गरेको भएपनि अन्य सर्वसाधारणलाई नगर्न सुझाव दिए ।

कोभिड संक्रमण बढेपछि मास्क लगाउन कडाइ गर्दै स्थानीय प्रशासनजे अनुगमन बढाएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले मास्क नलागाउने सर्वसाधारणलाई मास्क वितरण गर्दै मास्क लगाउन अनुरोध गर्दै हिँडेको काठमाडौंका प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंह बताउनुहुन्छ ।

सरकारलाई दोष दिएर कोरोनाबाट मुक्ति नमिल्ने निश्चित छ । आफ्नो स्वास्थ्य र शरीरको धनी आफैं भएकाले अरुका लागि नभएर आफ्ना लागि सचेत हुन जरुरी छ । व्यक्तिको सचेतना समाज हुँदै सिंगो देशमा फैलिने हुँदा हरेक व्यक्तिको समुचित व्यवहार अपेक्षित छ ।