८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


माधव नेपाललाई केशव बडालकाे आग्रह– ‘एमाले छोडेर नजानुस्’


0
Shares

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा भएको एका साक्षात्कारमा बोल्दै नेता बडालले एकताको लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकतामा लाग्नुपर्नेमा जोड दिनुभयो । माधव नेपालले पार्टी छोड्न लागेको हल्ला बाहिरिएको भन्दै उहाँले ३८ वर्षसम्म दुःख गरेर काम गरेको पार्टी छाड्ने गलत काम नगर्न आग्रह गर्नुभयो ।

माधव नेपालले आफ्नै पार्टीलाई कमजोर पार्ने काम गरेर ठूलो अपराध गरेको आरोप लगाउँदै उहाँले पार्टीको विधान र नीतिविपरित गतिविधि गरे पनि पार्टी एकताका लागि आफूहरुले कारबाही नगरेको जिकिर गर्नुभयो । एकताका नाममा पार्टीलाई अल्झाएर राखिरहन नहुने भएकाले कामकारबाही अघि बढाइएको तर्क गर्नुभयो ।

माधव नेपाललाई अध्यक्ष चाहिएको भए अगामी वैशाख १० अघि हुने महाधिवेशनबाट आउन नेता बडालले सुझाव दिनुभयो । महाधिवेशनका लागि अलमल गर्न नहुने बताउँदै उहाँले माधव नेपाललाई अर्को अध्यक्ष दिन नसकिने स्पष्ट पार्नुभयो । केपी ओलीले अध्यक्ष छोड्नुपर्ने र संसद् विघटन गरेकोमा माफी माग्नुपर्छ भन्ने नेपाल पक्षको शर्त नेता बडालले निरीह र बेइमानीको संज्ञा दिनुभयो ।

आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँछु भनेर लाग्ने माधवकुमार नेपाललाई जनताले कहिल्यै पनि इमान्दार नभन्ने बडालको तर्क छ । एमाले कमजोर बनाउनुको दोष नेपाललाई लगाउँदै उहाँले गल्ती नगर्न र फेरि पनि एकताका लागि गम्भीर बन्न आग्रह गर्नुभयो ।

त्यस्तै, नेता बडालले शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले आयोगमा रहेका अध्यक्ष देवीप्रसाद ज्ञवाली नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भन्दा लामो राजनीतिक इतिहास भएको व्यक्ति भएको पनि स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्ड हाइस्कुलको हेडमास्टर हुँदा देवी ज्ञवाली पार्टीमा पूर्णकालिन सदस्य हुनुहुन्थ्यो ।’