१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्तर्राष्ट्रिय युवा दिवस : चितवनमा बढ्दै उद्यमी, युवामा लगानी बढाउनुपर्नेमा जोड


13
Shares

डोलराज रानाभाट
चितवन । खैरहनीका यमन भुसाल कुनै समय हातमा पासपोर्ट बोकेर विदेश जान अन्तर्वार्ता दिने लाइनमा हुनुहुन्थ्यो । तर, अहिले उहाँ पूर्वी चितवनको रत्ननगरमा टेकमाइन्ड नेटवर्क प्राइभेट लिमिटेड मार्फत इन्टरनेट सेवा विस्तार गर्दै सफल उद्यमी बन्नुभएको छ ।

कुनै समय विदेशमा भविष्य देख्नुभएका ४० वर्षीय भुसालले अहिले ४२ जना युवाहरुलाई रोजगार दिँदै यहिँ उज्वल भविष्यको मार्ग देखाउन सफल हुनुहुन्छ ।

व्यवसायको पाटो त छँदै छ । उहाँले युवाहरु सामाजिक कार्यमा समेत लाग्नुपर्छ भन्ने सन्देश दिनुभएको छ । युवाहरुलाई नयाँ प्रविधि सँग पनि जोड्दै हुनुहुन्छ ।

कोभिड–१९ को संकटमा गाउँका टोल–टोलमा विद्यार्थीहरु, मन्दिर, बसपार्क लगायतका स्थानमा निःशुल्क इन्टरनेटको सुविधा पनि दिनुभएको छ । सामाजिक कार्यमा समेत सक्रिय भुसाल आफ्नो लक्ष्यमा आत्मविश्वास सहित निरन्तर लागि पर्यो भने सफलता पाउन कुनै समस्या नभएको बताउनुहुन्छ ।

त्यसो त नेपालमा बेरोजगारको समस्या समाधान हुन त सकेको छैन । तर, आफूसँग भएको सीप क्षमता दक्षता एक अर्कालाई बाँड्दै उद्यमी बनाउन युवाहरुनै सक्रिय छन् चितवनमा । जसको उदाहारण हो नेपाली युवा उद्यमी मञ्च ।

मञ्चका केन्द्रीय सदस्य आफैँमा उद्यमी हुनुहुन्छ । बुवाको पेशालाई आफूले जिम्मेवारीका साथ निर्वाह गर्नुभएको उहाँले मालिका हस्पिटालिटी एण्ड फुड प्राइभेट लिमिटेडबाट बैष्ठव नामको पसल चलाइरहनुभएको छ ।

युवाहरु यसरी आफै सक्रिय हुँदा सरकारले होस्टेमा हैँसे गर्न पनि चुकेको छ । बजेट निर्माणका चरणमा सहभागी भए पनि अझै युवामा लगानी भने कम भएको उहाँको भनाइ छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने राजनीतिक नेतृत्व तहमै युवालाई अवसर कम हुँदा सोचेअनुरुपको नतिजा नआएको बताउनुहुन्छ । अब युवाको भूमिका उनीहरुको आवश्यकता र क्षमताबारे कलम चलाउन जोड दिनुहुन्छ ।

अन्तराष्ट्रिय युवा दिवस मनाइरहँदा वहस र पैरवीका कार्यक्रम धेरै भएका छन् । तर, अझै पनि सीप र देशको आवश्यकताबीच मेल नखाँदा शिक्षित बेरोजगार बढिरहेका छन् । घरमा काम गर्ने मानिसको अभाव भन्ने र सोही घरको युवा काम पाइएन भन्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुनु आवश्यक छ ।