
खिलनाथ ताजपुरिया
काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरुको भद्दा र प्रतिशोधी अभिव्यक्तिले उनीहरूकै कार्यकर्ता पनि आजित भएका छन् ।
सत्तामा होस् या प्रतिपक्षमा एक अर्कालाई खुइल्याउनु उनीहरूको दैनिकी बनेको छ । शीर्ष नेताहरूमा बढ्दो दम्भ र असहिष्णु चरित्रले सामाजिक मनोविज्ञानमै प्रभाव पारेको छ ।
सरकारको सिँढीबाट ओर्लिएलगत्तै राजशी ढर्रासाथ आफ्नो निवास पुग्नुभएका पूर्वप्रधानमन्त्री केपी ओलीले घरको बार्दलीबाट आफ्नै साथीहरू विरुद्ध भँडास पोख्नुभयो । उन्मादीका क्रममा उहाँले एउटा जिम्मेवार दलको अध्यक्ष र पूर्वप्रधानमन्त्री भएको बिर्सनुभयो ।
बार्दली भाषणबाट सुरु भएको ओलीको गाली अभियान कार्यकर्ता भेला, पार्टीको बैठकदेखि कोठे गफमा समेत विस्तार हुँदै गयो । ओलीले विषवमन गरेको केही दिन नवित्दै प्रतिपक्षी बेञ्चमा बसेका उहाँलाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको रोष्टमबाट धम्क्याउँदै आगोसँग नजिस्किन चेतावनी दिनुभयो ।
ओलीले प्रचण्डको गाली डायरीमा टिपोट गरेझैं राख्नुभयो । जब पालो आयो संसदको त्यही रोष्टमबाट पालोको पैंचो फेर्नुभयो । प्रचण्डले देशमा आगो बालेको आफूलाई राम्रोसँग स्मरण रहेको बताउँदै ओलीले त्यसलाई १–२ बाल्टी पानीले निभाएको पनि सम्झन आग्रह गर्नुभयो ।
नेताहरूको यो शैली टोले गुण्डाको स्तरभन्दा पनि निकृष्ट रहेको राजनीतिक विश्लेषक आनन्दराम पौडेलको बुझाइ छ । ‘आफैँले जन्माएको घृणा नेताहरुले नै पाइरहेका छन्, अहिले जनतामाझ नेताको नाम लिए घृणा गर्छन्,’ उहाँ भन्नुहुन्छ, ‘जाँड खाएको टोले गुण्डा जथाभावी बोलेको भन्दा पनि छुद्र बोल्ने पनि नेता हुन्छन् ?’
नेता देशका सम्पति हुन् । उनीहरूको व्यक्तिगत जीवनले राष्ट्रको जीवनमा ठूलो प्रभाव पारेको हुन्छ । नेताका गतिविधिको सन्देश हरेक सञ्चारमाध्यमबाट सबै पुस्तामा पुग्ने भएकाले बोली, वचन र व्यवहारमा अनुशासित हुनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्