काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले क्रियाशील सदस्यता विवाद भएका स्थानमा १३औं महाधिवेशनका सदस्यलाई मान्यता दिएर महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा जारी केन्द्रीय कमिटी बैठकमा डा. कोइरालाले समस्या भएका स्थानमा १३औं महाधिवेशनका क्रियाशील सदस्यलाई नै आधार मानेर महाधिवेशनमा जान सुझाव दिनुभयो । पार्टीको वैधानिकता र संविधान एवं ऐनको मानेर जाने अवस्थामा यहि मात्र उत्तम विकल्प हुने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले शत् प्रतिशत समय सरकार सञ्चालनमा दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भएको बताउनुभयो । प्रधानमन्त्रीको ध्यान सरकार सञ्चालनमा नहुँदा सरकारले प्रभावकारी काम गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले शत् प्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५% समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ?’
यस्तै उहाँले दुई महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन भएको स्मरण गराउँदै यसले कसरी जनहितमा काम गर्न सक्छ भन्दै सभापति एवं प्रधानमन्त्री देउवासमक्ष प्रश्न गर्नुभयो । उहाँले जनहित र सुशासन दिनका लागि पहिला मन्त्रिपरिषद्ले पूर्णता पाउनुपर्नेमा जोड दिनुभयो । संख्याका हिसाबले कम भए पनि सरकारले नेतृत्व गरिरहेका नेपाली कांग्रेसमक्ष ठूला चुनौती बताउनुभयो ।
पार्टी कार्यालयमा धर्ना भएका कारण आफूहरुले बुढानिलकण्ठमा बैठक बस्नुपरेको दुःख व्यक्त गर्दै कोइरालाले पार्टी कार्यालयमा धर्ना बसेका साथीहरुको पीडा पनि पार्टीले सुन्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले माग सम्बोधन गर्दै पार्टीको केन्द्रीय कार्यकारिणी बैठक केन्द्रीय कार्यालय सानेपामै राख्न अनुरोध गर्नुभयो ।
संविधान र कानुन आफूहरुले नै बनाएको स्मरण गराउँदै उहाँले त्यसमा उल्लेख भएका र लेखिएका कुराहरूलाई कांग्रेसले बिर्सन नमिल्ने जिकिर गर्नुभयो । पदाधिकारी र पुर्व पदाधिकारीले महाधिवेशनको टुङ्गो लगाउने आशामा भए पनि नेताहरुमा इच्छाशक्ति नभएको उहाँको आरोप थियो ।
‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन, क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन ।’
छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर दुई महिना भित्र महाधिवेशन सम्पन्न गनुपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्