सुरेन्द्र भण्डारी
झापा । गत असार २७ गते सृजनाको अर्धनग्न अबस्थामा शव फेला परेपनि अहिले सम्म उनको मृत्यु के कारणले भयो प्रहरीले सत्यतथ्य बाहिर नल्याएको भन्दै स्थानीयले बिर्तामोडमा दिनहुँजसो प्रर्दशन गरिरहेका छन् । बिर्तामोड नगरपालिका ५ सुगम पेट्रोल पम्प नजिकै परिवारसंगै बस्दै आएकी २५ वर्षीया सृजनाको एक महिना बितिसक्दा पनि हत्या हो या मृत्यु भन्ने नै प्रहरीले खुलाउन नसक्दा घटना झनै पेचीलो बन्दै गएको छ ।
बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि सहित मेची महाकाली बुहारी समाजले अर्धनग्न अवस्थामा भेटिएकी सृजनाको यति लामो समय सम्म प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउन नसक्नु संकास्पद भएको भन्दै छिटै सत्य तथ्य बाहिर ल्याउन माग गरेकाछन् । सृजनाको मृत्युको विषयमा सम्बन्धित निकाय मौन रहेको भन्दै बिर्तामोड नगरपालिका ५ का वडाअध्यक्ष राजेन्द्र लिङ्देनलाईसमेत घटनाको सत्यतथ्य चडो बाहिर ल्याउन उनीहरुले दबाव दिईरहेकाछन् ।
गत पुस महिना यता मात्रै झापाको बिर्तामोडमा ४ जनाको हत्या भयो । कुनै पनि घटनाको निश्पक्ष छानविन हुन नसकी ढीसमिस हुनु दुखद भएको स्थानीय रञ्जु बरालको भनाई छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले बिर्तामोडमा पछिल्ला दिनमा भएका श्रृङ्खलावद्ध हत्याका घटनाले प्रशासन प्रति नागरिकको बिश्वास घट्दै गएको बताउनुभयो । उहाँले घटनाको चाडै सत्यतथ्य बाहिर ल्याउन पनि माग गर्नुभयो ।
बिर्तामोड नगरपालिकाले बिर्तामोड नगरपालिका भित्र शान्ति सुरक्षा थप प्रभावकारी बनाई नागरिकको जीउ धनको रक्षा गर्न माग गरेको छ ।
बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै घर अगाडि मृत भेटिएकी बस्नेत र होटल व्यवसायी तीलक निरौलाको मृत्युको विषय सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्न माग गर्नु भयो । स्थानीय तहले नै प्रहरीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै चिन्ता गर्नुले झापामा नेपाल प्रहरीले प्रदान गर्दै आएको शान्ति सुरक्षा प्रति नै प्रश्न चिन्ह्र खडा भएको छ ।
प्रतिक्रिया दिनुहोस्