एजेन्सी । यस वर्षको जुलाई महिना १ सय ४२ वर्षपहिलेदेखि तथ्याङ्क राख्न थालेयता विश्वकै सबैभन्दा गर्मी महिना भएको छ ।
अमेरिकाको संघीय वैज्ञानिक तथा नियामक निकायले गत जुलाई पृथ्वीमा अहिलेसम्मकै गर्मी महिना बनेको जनाएको छ । तथ्याङ्कहरु विश्लेषण गर्दा पृथ्वी र समुद्री सतहको समग्र तापक्रम २०औं शताब्दीको औषत तापक्रम १५ दशमलब ८ डिग्री सेल्सियस भन्दा शून्य दशमलब ९३ डिग्री सेल्सियसले बढी देखिएको छ ।
यसअघि सन् २०१६ को जुलाइमा उच्च तापक्रम मापन भएको थियो । यस वर्षको जुलाईको जमिन तथा समुद्र सतहको एकीकृत तापक्रम सन् २०१६ मा मापन भएको भन्दा शून्य दशमलव शून्य एक डिग्री सेल्सियस बढी छ । जलवायु परिवर्तनको दीर्घकालीन प्रभावका कारण तापक्रम बढेको विज्ञहरुले बताएका छन् ।
केही दिन अघि मात्र संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा पनि विश्वव्यापी तापमान वृद्धिले मानवजाती भयंकर ठूलो संकटको सामू उभिएको निष्कर्ष निकालेको थियो । उत्तरी गोलार्धमा औषत तापक्रम यसअघि सन् २०१२ मा मापन गरिए भन्दा समग्रमा एक दशमलब ५४ डिग्री सेल्सियस उच्च देखिएको छ ।
समग्रमा विश्वकै सबैभन्दा गर्मी महिना बने पनि विभिन्न ठाउँमा तापक्रम फरक फरक रहेको थियो । एसियामा यो वर्षको जुलाई अहिलेसम्मकै गर्मी मापन हुँदा युरोपमा यो वर्षको जुलाई अहिलेसम्मको दोस्रो गर्मी महिना बन्यो । त्यसैगरि उत्तर अमेरिकामा भने यो वर्षको जुलाई तथ्यांक राख्न थालिए यताको छैटौँ गर्मी महिना बनेको देखिएको छ । अस्ट्रेलियामा चौथो तथा न्यजिल्याण्डमा छैटौँ गर्मी जुलाई बन्यो ।
प्रतिक्रिया दिनुहोस्