१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्यार्थीलाई खोपको व्यवस्था मिलाउन कांग्रेसको माग


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् ।

केन्द्रीय कार्य समितिको जारी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीलाई तत्काल उपलब्ध गराइ सबै तहको परीक्षा सूचारु गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

खोपको अभावमा विद्यार्थीले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रीय सदस्यहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकमा नेताहरूले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरूलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए । पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरूलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि आग्रह गरेको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

भूतपूर्व गोर्खा सैनिकहरूले बेलायतमा विभिन्न माग राखेर धर्ना दिइरहेकाले उनीहरूको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरूले दवाव थिएका थिए । अफगानिस्तानमा रहेका नेपाली युवाहरूको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री देउवालाई कांग्रेस केन्द्रीय सदस्यहरूले आग्रह गर्नुभएको थियो ।

बैठकमा नेताहरूले पार्टीको आसन्न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारितालगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिने क्रम जारी रहेको नेपाली कांग्रेसले जनाएको छ ।